कांग्रेस सांसद यादवको प्रश्न : ‘प्रधानमन्त्रीको जिम्मेवारी फेसबुक स्टाटसले पूरा हुन्छ ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर सरकारको चर्को आलोचना गर्दै नागरिकको ज्यान जाने अवस्थाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएकी छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको ज्यान जाने घटना सामान्य विषय हुन नसक्ने बताइन्।

“नागरिकको ज्यानै जाने अवस्था आउनु लोकतान्त्रिक सरकारका लागि सामान्य विषय हुन सक्दैन,” उनले भनिन्, “हिजो यस्तै घटना हुँदा प्रधानमन्त्रीज्यूले अरूलाई नैतिक रूपमा असफल घोषणा गर्नुहुन्थ्यो, आज उहाँ स्वयं सरकारको नेतृत्वमा हुँदा के त्यो नैतिक मापदण्ड आफूमा लागू हुँदैन ?”

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना व्यक्त गर्दैमा जिम्मेवारी पूरा नहुने उनको भनाइ थियो। “के प्रधानमन्त्रीको जिम्मेवारी फेसबुक स्टाटस लेखेर मात्र पूरा हुन्छ ? प्रधानमन्त्रीको वास्तविक दायित्व त घटना हुन नदिनु, सुरक्षा सुनिश्चित गर्नु र राज्य संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नु हो,” यादवले भनिन्।

सांसद यादवले घटनापछि गृहमन्त्रीको भूमिका र उपस्थितिमाथि पनि प्रश्न उठाइन्। यति गम्भीर परिस्थितिमा गृहमन्त्री सक्रिय नदेखिएको भन्दै उनले सरकार जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाइन्।

“यति गम्भीर मोडमा गृहमन्त्रीज्यू कता हराउनुभयो ? सरकारले सुरक्षाकर्मीको गल्ती देखाएर पन्छिन खोज्दै छ, तर सुरक्षाकर्मी त राज्यको आदेश र नीति अन्तर्गत परिचालित हुन्छन्। यदि त्रुटि भएको हो भने त्यसको सम्पूर्ण नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ,” उनले भनिन्।

सांसद यादवले नेपाली कांग्रेस कुनै पनि प्रकारको हिंसा तथा धार्मिक वा साम्प्रदायिक द्वेषको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पार्दै सरकारको लाचारी र लापरवाहीप्रति आफ्नो पार्टी मौन नबस्ने चेतावनी दिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।