काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले वर्तमान सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै आफूले समेत अपेक्षित परिवर्तन महसुस गर्न नसकेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले जनआन्दोलनको मर्म र परिवर्तनको नारासहित गठन भएको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे। सरकारमा सहभागी दलकै सांसद भएर पनि आफूले परिवर्तनको अनुभूति गर्न नसकेको उनको भनाइ थियो।
“परिवर्तनको नारामा बनेको यो सरकारमा स्वयम् मैले त परिवर्तन महसुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको अनुभूति गर्न पाउनु ?” उनले संसद्मा प्रश्न गरे।
सांसद पन्तले सरकारप्रति जनताको बढ्दो असन्तुष्टि सम्बोधन गर्न कार्यशैलीमा सुधार आवश्यक रहेको बताए। उनले सरकार गठनका बेला गरिएको परिवर्तनको प्रतिबद्धता व्यवहारमा देखिन नसकेको संकेत गर्दै जनचाहनाअनुसार परिणाममुखी काम गर्न आग्रह गरे।
उनले स्वास्थ्य क्षेत्रको पछिल्लो अवस्थाप्रति पनि संसद्को ध्यानाकर्षण गराए। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपात तथा त्यसको विरोधमा देशभर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि सर्वसाधारण उपचार सेवाबाट प्रभावित भएको उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गर्न माग गरे।
पन्तले घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न र निर्दोष व्यक्ति पक्राउ परेका भए तत्काल रिहा गर्न सरकारसँग माग गरे। साथै, स्वास्थ्य सेवा अवरुद्ध हुँदा नागरिकले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
सांसद पन्तको अभिव्यक्तिले सत्तारुढ गठबन्धनभित्रै सरकारको कार्यसम्पादनबारे असन्तुष्टि रहेको संकेत गरेको छ।

Comment