काठमाडौं । द्रव्य प्रोडक्सनको ब्यानरमा नयाँ हास्य फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। निर्माण टिमले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा कथावाचकका रूपमा परिचित साइग्रेस पोखरेललाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ। एक पोस्टरमा उनलाई मोटरसाइकलको पछाडि बसेर कतै गइरहेको देख्न सकिन्छ भने उनको हाउभाउ र प्रस्तुतिले फिल्म हास्य शैलीको रहेको संकेत गर्छ। पोस्टरमा उनले चलचित्र पत्रकारको परिचयपत्र बोकेको समेत देखिन्छ।
अर्को पोस्टरमा साइग्रेस चलचित्र पत्रकारको प्रेसकार्डसहित मोबाइलमार्फत पठाओ बुक गरिरहेको दृश्यमा प्रस्तुत छन्। दुवै पोस्टरले फिल्मको कथावस्तु र पात्रको पृष्ठभूमिप्रति दर्शकको उत्सुकता बढाएको निर्माण पक्षको विश्वास छ।
जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा बोल्दै साइग्रेस पोखरेलले कथावस्तु मन परेकै कारण फिल्ममा आबद्ध भएको बताए। “मैले ‘आ बाट आमा’ खेलेपछि फेरि अभिनय गर्दिनँ भन्ने सोचेको थिएँ। तर अभिनय एउटा नसा रहेछ। यही फिल्मको कथा मन परेकाले यसमा काम गर्न तयार भएको हुँ,” उनले भने।
फिल्ममा साइग्रेसबाहेक अन्य कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण टिमले क्रमशः कलाकार तथा प्राविधिक टोलीबारे जानकारी गराउने जनाएको छ।
फिल्मको निर्देशन राजकुमारले गर्नेछन्। उनका अनुसार फिल्मको छायांकन आगामी दसैँपछि सुरु गरिनेछ।

Comment