नेपाली बजारमा भित्रियो हिरोको भिडा ब्रान्ड, नेपालमा प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्राको सुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। हिरो मोटोकर्पद्वारा सञ्चालित विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड ‘भिडा’ ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ। यससँगै कम्पनीले आफ्नो विश्वव्यापी विस्तार अभियानको सुरुआत नेपालबाट गरेको जनाएको छ।

नेपालमा भिडाका उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन्। कम्पनीले नेपाली ग्राहकहरूको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै ‘भिडा भिएक्स–२’ईभी स्कुटर सिरिज तथा युवापुस्ताका लागि ‘भिडा डर्ट.ई के–३’ विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको हो।

दैनिक आवतजावतलाई ध्यानमा राखेर डिजाइन गरिएको भिडा भिएक्स–२ ईभी स्कुटर अत्याधुनिक प्रविधि, आकर्षक रेन्ज, उच्च कार्यक्षमता तथा गुणस्तरीय निर्माणका कारण चर्चित रहेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार यसले विश्वप्रसिद्ध अनुसन्धान संस्था जेडी पावरको दुईपाङ्ग्रे सवारी साधनको प्रारम्भिक गुणस्तर अध्ययनमा उत्कृष्ट स्थान हासिल गरेको छ।

त्यस्तै, भिडा डर्ट.ई के–३ विशेषगरी किशोर तथा युवा राइडरहरूलाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रूपमा विद्युतीय अफ–रोड अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकास गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा हिरो मोटोकर्पको इमर्जिङ मोबिलिटी बिजनेस युनिटका प्रमुख व्यापार अधिकृत कौशल्या नन्दकुमारले नेपालको विद्युतीय सवारी बजार तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै भिडाको अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु गर्वको विषय भएको बताए।

“नेपाल हाम्रो लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बजार हो। भारतमा विकसित उत्कृष्ट इन्जिनियरिङ र डिजाइन क्षमतालाई अब नेपाली ग्राहकसम्म पुर्‍याउन पाउँदा हामी उत्साहित छौं। सीजी मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो तथा अत्याधुनिक विद्युतीय दुईपाङ्ग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध छौं,” उनले भने।

त्यसैगरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै भिडाको प्रवेशले विद्युतीय सवारीको प्रयोगलाई थप गति दिने विश्वास व्यक्त गरे।

“दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरूको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका यी विद्युतीय उत्पादनहरूले नेपालको दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन्। हिरो मोटोकर्पसँगको हाम्रो दीर्घकालीन सहकार्यलाई भिडामार्फत अझ सुदृढ बनाउँदै नेपालको हरित भविष्य निर्माणमा योगदान दिन पाउँदा हामी गर्व गर्छौं,” उनले भने।

दुई भेरियन्टमा भिएक्स–२ स्कुटर

भिडा भिएक्स–२ स्कुटर ‘भिएक्स–२ प्लस’ र ‘भिएक्स–२ गो’ गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ।

भिएक्स–२ प्लसमा ४.४ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले वास्तविक अवस्थामा करिब १४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.१ सेकेन्डमा लिन सक्छ। डीसी फास्ट चार्जिङमार्फत ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने सुविधा यसमा उपलब्ध छ।

त्यस्तै, भिएक्स–२ गोमा २.२ किलोवाट–घण्टा क्षमताको निकाल्न मिल्ने ब्याट्री जडान गरिएको छ। यसले करिब ७५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। स्कुटरको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमा प्राप्त गर्न सक्छ। यसमा पनि डीसी फास्ट चार्जिङमार्फत ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने सुविधा उपलब्ध छ।

दुवै मोडलमा घरायसी ५ एम्पियरको सामान्य सकेट प्रयोग गरेर निकाल्न मिल्ने ब्याट्री चार्ज गर्न सकिने व्यवस्था छ। साथै भिडा एप, नेभिगेसन, कल तथा एसएमएस सूचना लगायतका स्मार्ट कनेक्टेड फिचरहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ।

युवा राइडर लक्षित डर्ट.ई के–३

भिडा डर्ट.ई के–३ विशेषगरी किशोर तथा युवा राइडरहरूलाई लक्षित गरी विकास गरिएको विद्युतीय अफ–रोड मोटरसाइकल हो। यसलाई प्रयोगकर्ताको उमेर तथा शारीरिक बनावटअनुसार तीन फरक साइजमा रूपान्तरण गर्न सकिने व्यवस्था गरिएको छ।

यसमा एपमार्फत सञ्चालन हुने अभिभावकीय नियन्त्रण (Parental Control) सुविधा उपलब्ध छ। जसअन्तर्गत अभिभावकहरूले बाइकको अधिकतम गति निर्धारण गर्न, स्पिड नियन्त्रण गर्न तथा तीन फरक स्पिड मोडमध्ये आवश्यक मोड चयन गर्न सक्नेछन्। मोड–१ मा ८–९ किलोमिटर प्रतिघण्टा, मोड–२ मा १७–१८ किलोमिटर प्रतिघण्टा तथा मोड–३ मा २३–२४ किलोमिटर प्रतिघण्टाको गति सीमा निर्धारण गरिएको छ।

३५० वाट मोटर र निकाल्न मिल्ने ब्याट्रीले सुसज्जित यो बाइकले सडक अवस्था तथा प्रयोग मोडअनुसार करिब तीन घण्टासम्म राइडिङ अनुभव प्रदान गर्न सक्ने कम्पनीको दाबी छ। यसको ब्याट्री २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन करिब दुई घण्टा लाग्ने बताइएको छ।

सन् २०१४ देखि नेपाली बजारमा सक्रिय हिरो मोटोकर्पले भिडाका विद्युतीय उत्पादनहरूको प्रवेशसँगै नेपालमा स्मार्ट, दिगो तथा भविष्यमुखी विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु भएको जनाएको छ।

कम्पनीले उल्लेखित रेन्ज, गति तथा चार्जिङ समय आफ्नै आन्तरिक परीक्षणका आधारमा मापन गरिएको र वास्तविक प्रयोग, सडक अवस्था, मौसम तथा अन्य कारणका आधारमा फरक पर्न सक्ने स्पष्ट पारेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।