प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप, साउन ९ मा माइतीघरमा बृहत् प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको आरोप लगाउँदै विरोधमा साउन ९ गते काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने घोषणा गरेका छन्। बिहीबार संयुक्त रूपमा जारी विज्ञप्तिमा महासंघले आम निर्वाचनपछि गठन भएको वर्तमान सरकारबाट प्रेस स्वतन्त्रताको संवैधानिक मर्मअनुसार सञ्चार क्षेत्रमैत्री नीति आउने अपेक्षा गरिए पनि व्यवहारमा सञ्चारमाध्यममाथि दबाब, अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन तथा सञ्चारगृह लक्षित गतिविधि बढ्दै गएको जनाएको छ। यस्ता गतिविधिका कारण नेपाली सञ्चार क्षेत्र स्वनियन्त्रणको डरलाग्दो अवस्थाबाट गुज्रिरहेको महासंघको दाबी छ।

महासंघले सञ्चार क्षेत्रले लामो समयदेखि उठाउँदै आएका समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चारमाध्यमको संरक्षण, लोककल्याणकारी विज्ञापन व्यवस्थाको सुधार, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, आवश्यक सञ्चार संरचनाको गठन तथा पत्रकारको बीमा र सामाजिक सुरक्षाजस्ता विषयमा सरकारले अपेक्षित चासो नदेखाएको आरोप लगाएको छ।

विज्ञप्तिमा निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतको आदेशबाट हटाइएको निर्णयको स्वागत गरिएको छ। तर अदालतको आदेश व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा सञ्चार क्षेत्र थप समस्यामा पर्न सक्ने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारले प्रतिकूल नीतिहरू तत्काल फिर्ता लिनुपर्ने महासंघको माग छ। साथै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय मान्यता तथा लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ।

उक्त मागलाई थप सशक्त रूपमा उठाउन महासंघले साउन ९ गते शनिबार दिउँसो ३ बजे माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ। प्रदर्शनमा सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा सरोकारवाला सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

संयुक्त विज्ञप्तिमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिकी कार्यवाहक अध्यक्ष रोजिना थापा (कार्की), काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की तथा भक्तपुर शाखाका अध्यक्ष सुन्दर सिल्पकारको हस्ताक्षर रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।