हाइड्रोजन गाडीको मापदण्ड बनाउन सरकारले माग्यो सरोकारवालासँग सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा हाइड्रोजन प्रविधिमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र नियमनका लागि सरकारले नीतिगत तथा कानुनी आधार तयार गर्ने प्रक्रिया अघि बढाएको छ।

पूर्वाधार विकास मन्त्रालयले हाइड्रोजन सवारी सम्बन्धी नीति, सुरक्षा मापदण्ड, निर्देशिका तथा आवश्यक जनशक्ति विकासका विषयमा विभिन्न सरोकारवाला निकायबाट लिखित सुझाव आह्वान गरेको हो।

शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्नो अध्ययन, अनुसन्धान र व्यावहारिक अनुभवका आधारमा २०८३ साउन २० गतेभित्र मन्त्रालयको आधिकारिक इमेलमा सुझाव पठाउनुपर्नेछ।

मन्त्रालयले प्राप्त सुझावहरूको अध्ययन तथा विश्लेषण गरी हाइड्रोजन सवारी सम्बन्धी भावी नीति, कानुनी व्यवस्था र कार्यविधि निर्माणमा उपयोग गर्ने जनाएको छ।

सरकारले विशेष गरी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, हाइड्रोजन उत्पादन तथा भण्डारणसम्बन्धी सुरक्षा मापदण्ड, इन्धन भर्ने पूर्वाधार विकास तथा विद्यमान आन्तरिक दहन इन्जिन (आईसीई) र अन्य सवारी साधनलाई हाइड्रोजनमा रूपान्तरण गर्ने प्राविधिक सम्भाव्यताबारे ठोस सुझाव मागेको छ।

यसका साथै प्राविधिक जनशक्ति विकास, आपत्कालीन उद्धार सेवाको क्षमता अभिवृद्धि तथा आवश्यक नियामक व्यवस्थासम्बन्धी स्पष्ट मार्गचित्र प्रस्तुत गर्न मन्त्रालयले सरोकारवालाहरूलाई आग्रह गरेको छ।

सरकारले स्वच्छ ऊर्जा तथा हरित यातायात प्रवर्द्धनको दीर्घकालीन लक्ष्यलाई ध्यानमा राख्दै हाइड्रोजन प्रविधिको उपयोगका लागि आवश्यक आधारभूत नीति तथा संरचना विकास गर्ने तयारी थालेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।