काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धमा समझदारी भएको छ।
बुधबार ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जीवनकुमार कटुवालले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार अबदेखि राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सञ्चय कोषसहित अन्य अवकाश कोषको व्यवस्थापन कर्मचारी सञ्चय कोषले गर्नेछ। हाल राष्ट्रिय वाणिज्य बैंकमा दुई हजार नौ सय ५५ कर्मचारी कार्यरत रहेका छन्।
राष्ट्रिय वाणिज्य बैंकले यो सहकार्यबाट कर्मचारीको अवकाश कोष व्यवस्थापनलाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरेको छ।
पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक वि.सं. २०२२ माघ १० गते स्थापना भएको हो। हाल बैंकले सातै प्रदेशका ७७ जिल्लामा ३१६ शाखा कार्यालयमार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा, स्वचालित नगद वितरण केन्द्र, मोबाइल बैंकिङ तथा अन्य आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Comment