काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। कर्जाको तुलनामा निक्षेप तीव्र रूपमा बढ्दै जाँदा बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढेको र त्यसकै प्रभावस्वरूप बैंकहरूले निक्षेपको लागत घटाउन ब्याजदर निरन्तर कम गर्दै लगेका हुन्।
चालु आर्थिक वर्षमा बैंकहरूको निक्षेप करिब १० खर्ब रुपैयाँले वृद्धि भएको भए पनि कर्जा विस्तार भने करिब ४ खर्ब रुपैयाँमा सीमित भएको छ। कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंकहरूमा अतिरिक्त तरलता थुप्रिएको छ। हाल बैंकहरूले १३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रकम नेपाल राष्ट्र बैंकमा पार्क गरेका छन्।
साउन महिनाका लागि प्रकाशित ब्याजदरअनुसार २० वाणिज्य बैंकमध्ये १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत् राखेका छन् भने ६ बैंकले घटाएका छन्। कुनै पनि बैंकले ब्याजदर वृद्धि गरेका छैनन्।
ब्याजदर घटाउने बैंकहरूमा एनएमबि बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।
राष्ट्रिय वाणिज्य बैंकले असारमा रहेको ४.७५ प्रतिशत ब्याजदरलाई घटाएर साउनमा ४ प्रतिशत कायम गरेको छ, जुन सबैभन्दा ठूलो कटौतीमध्ये एक हो। ग्लोबल आईएमई बैंकले पनि ४.५ प्रतिशतबाट ४ प्रतिशतमा झारेको छ भने एनएमबि बैंकले ४.७५ प्रतिशतबाट ४.५ प्रतिशतमा ल्याएको छ।
त्यसैगरी कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३.८५ प्रतिशत कायम गरेका छन्। सिटिजन्स बैंकले पनि ब्याजदर घटाएर ३.९५ प्रतिशतमा झारेको छ।
हिमालयन, प्राइम, एनआईसी एशिया र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत ब्याजदरलाई यथावत् राखेका छन्। एभरेष्ट र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत, नेपाल एसबिआई बैंकले ४.१ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत तथा नेपाल बैंकले ४.२५ प्रतिशत ब्याजदर कायम राखेका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा र माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
नेपाल राष्ट्र बैंकले बचत निक्षेपको न्यूनतम ब्याजदर निक्षेप संकलन दरभन्दा कम राख्न नपाइने व्यवस्था गरेको छ। हाल निक्षेप संकलन दर २.७५ प्रतिशत कायम रहेकाले बैंकहरूले बचत खाताको ब्याजदर थप घटाउन नसकेका हुन्। त्यसैले लागत नियन्त्रणका लागि मुद्दती निक्षेपको ब्याजदर घटाउने रणनीति अपनाइएको बैंकिङ क्षेत्रको भनाइ छ।
साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.१७ प्रतिशत कायम भएको छ। असारमा यो औसत ४.२६ प्रतिशत रहेको थियो। यसरी एक महिनामै औसत ब्याजदर ०.०९ प्रतिशत बिन्दुले घटेको देखिन्छ।
विशेषगरी छोटो अवधिका मुद्दती निक्षेपमा अधिकांश बैंकको ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ भने दुई वर्षदेखि १० वर्षसम्मका दीर्घकालीन मुद्दती निक्षेपमा भने केही बैंकहरूले ४ प्रतिशत वा सोभन्दा माथिको ब्याजदर प्रस्ताव गरेका छन्।


Comment