सरकार नागरिकको आवाज दबाउन खोज्दैछ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार नागरिकको मुख थुनेर अधिनायकवादी शैलीमा सत्ता सञ्चालन गर्न खोजिरहेको आरोप लगाएका छन्।

४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले लोकतन्त्रमा नागरिकलाई सत्तामाथि प्रश्न गर्ने अधिकार सुनिश्चित हुनुपर्ने बताए। उनले जननायक बीपी कोइरालाले राणा शासनका बेला नागरिकको अधिकार र स्वतन्त्रताका पक्षमा लिएको अडानको स्मरण गर्दै वर्तमान समयमा पनि अभिव्यक्ति स्वतन्त्रताको रक्षा आवश्यक रहेको उल्लेख गरे।

थापाले राजनीतिक दलका नेता, सञ्चारमाध्यम तथा व्यवसायीमाथि दबाब सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए। राज्यले नागरिकको निजी सम्पत्ति, व्यवसाय र जीवनमा अनावश्यक हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो।

उनले स्थानीयवासीबाट प्राप्त जानकारी उद्धृत गर्दै केही व्यक्तिहरू सरकारी सवारी प्रयोग गरेर विभिन्न स्थानमा पुगेको दाबी गरे। सुकुम्बासी समस्या तथा गणेश नेपालीको आत्मदाह प्रकरणबारे राजनीतिक दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि राज्यको व्यवहार थप कठोर बनेको उनको आरोप थियो।

सभापति थापाले सुकुम्बासी समस्यालाई राजनीतिकरण गर्ने कांग्रेसको नीति नरहेको स्पष्ट पार्दै कानुनी र व्यवहारिक समाधान खोज्नु सरकारको दायित्व भएको बताए। समस्या समाधानको सट्टा सरकार आफैँले जटिलता बढाएको उनको आरोप छ।

सरकार प्रत्येक नागरिकको अभिभावक र संरक्षक बन्नुपर्ने उल्लेख गर्दै उनले मानव जीवनको रक्षा र संवेदनशीलताप्रति राज्य अझ जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।