चितवन । पतञ्जली योग समिति चितवनद्वारा सञ्चालित सह–शिक्षक तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१८, गुञ्जनगरस्थित ग्रीन पार्कमा आयोजित कार्यक्रममा ८२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो ।
जेठ ५ गतेदेखि सञ्चालन भएको उक्त तालिम असार १५ गते सफलतापूर्वक सम्पन्न भएपछि असार १६ गते मंगलबार दीक्षान्त समारोह आयोजना गरिएको थियो ।
पतञ्जली योग समिति चितवनका अध्यक्ष बलराम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–१८ का वडाध्यक्ष बाबुराम राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रमुखको हातबाट ८२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
दीक्षान्त समारोहसँगै प्रशिक्षार्थीहरूलाई देवयज्ञमा समेत सहभागी गराइएको थियो । पतञ्जली योग समिति बागमती प्रदेशकी महामन्त्री सुधा कोलौनीको नेतृत्वमा देवयज्ञ सम्पन्न भएको हो ।
कार्यक्रमका अवसरमा वडाध्यक्ष बाबुराम रानालाई पतञ्जली योग समिति चितवनको जिल्ला सल्लाहकारमा मनोनयन गरिएको घोषणा गरिएको थियो । यस्तै, गुञ्जनगर साधना केन्द्रका दयानिधि अर्याललाई साधना केन्द्र संयोजकको जिम्मेवारी दिइएको छ ।
नियमित योग अभ्यासमा सहभागी भई प्रेरणादायी योगदान पुर्याएका ८६ वर्षीय नारायणदत्त ढकाल, ८३ वर्षीया विष्णुमाया अर्याल, ७ वर्षीया प्रिन्सा राना मगर र ८ वर्षीया अर्पिता सुवेदीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने साधना केन्द्रका संयोजक दयानिधि अर्यालसहित हेमचन्द्र लामिछाने, राधा भट्टराई, हरिराज अर्याल, चूडामणि पौडेल, थानेश्वर लामिछाने र भागीरथी पण्डितलाई पतञ्जली सम्मान प्रदान गरिएको थियो ।

Comment