काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची (लङलिस्ट) सार्वजनिक गरेको छ।
प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्येबाट पुरस्कार छनोट समितिले उत्कृष्ट १५ कृतिलाई विस्तारित सूचीमा समावेश गरेको हो।
विस्तारित सूचीमा वर्णानुक्रमअनुसार निम्न कृतिहरू परेका छन्:
‘अ–विधवा’ (गोविन्द गिरी प्रेरणा), ‘कल्प’ (डा. नवराज लम्साल), ‘जगज्जननी उसकी आमाको नाम होइन’ (नारायण ढकाल), ‘तुलु राजा’ (चन्द्रप्रकाश बानियाँ), ‘तोरकीन’ (क्षितिज समर्पण), ‘दहाड’ (नवीन अभिलाषी), ‘परिधि’ (उमा सुवेदी), ‘पैकेलो’ (ओम रिजाल), ‘भग्न प्रेमशाला’ (खगेन्द्र गिरी), ‘मध्यको उज्यालो’ (भूपिन), ‘महायुग’ (सीमा आभास), ‘स्वस्पर्श’ (डा. नवराज केसी), ‘सलह’ (श्रवण मुकारुङ), ‘सूतपुत्र’ (शंकरप्रसाद गैरे) र ‘हिउँद’ (नदीश)।
प्रतिष्ठानले आगामी महिनामा यही विस्तारित सूचीबाट पाँच उत्कृष्ट कृतिको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिने जनाएको छ। त्यसपछि अन्तिम विजेता घोषणा गरिनेछ।
पद्मश्री साहित्य पुरस्कार नेपाली साहित्यको प्रतिष्ठित पुरस्कारमध्ये एक मानिन्छ। सामान्यतया कोजाग्रत पूर्णिमाका दिन आयोजित विशेष समारोहमा नगद राशि र सम्मानपत्रसहित यो पुरस्कार प्रदान गरिन्छ।


Comment