धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममै हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित सार्वजनिक कार्यक्रममा पुगेर कुँवरले हातपात गरेकी थिइन्। कार्यक्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
घटनालगत्तै वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावत का अनुसार कुँवरलाई पक्राउ गरी हिरासतमा राखिएको छ।
डीएसपी रावतका अनुसार वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिएका छन्। सोही आधारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यता पत्रकार कुँवरले भने आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। घटनाको वास्तविकता खुलाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा रहेको छ भने दुवै पक्षले एकअर्कामाथि आरोप लगाएका छन्। प्रहरीले अनुसन्धानपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

Comment