विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन अधिकारीहरूले फर्काएका छन्।

अध्यागमन स्रोतका अनुसार फिफा विश्वकप २०२६ अवलोकनका लागि अमेरिका हुँदै मेक्सिको जाने तयारीमा रहेका उनीहरूलाई कालोसूची (ब्ल्याकलिस्ट) मा रहेको कारण विमानस्थलबाटै रोकिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले दुवै पदाधिकारी विदेश यात्रा प्रतिबन्धको सूचीमा रहेकाले प्रस्थान अनुमति नदिइएको जानकारी दिएका छन्।

यसअघि आर्थिक अनियमिततासम्बन्धी विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका पदाधिकारीहरूको विदेश यात्रा अस्थायी रूपमा रोक्ने निर्णय गरेको थियो।

फिफा विश्वकप २०२६ सम्बन्धी कार्यक्रममा सहभागी हुन विदेश जाने अनुमति माग्दै अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए। तर राखेपले उनीहरूको विदेश यात्रा खुला गर्ने माग अस्वीकार गरेको स्रोतले जनाएको छ।

यस घटनाले एन्फा नेतृत्वमाथि जारी आर्थिक छानबिन र त्यसका प्रभावबारे पुनः चर्चा सुरु भएको छ। अधिकारीहरूका अनुसार छानबिन प्रक्रिया टुंगो नलागेसम्म विदेश यात्रा प्रतिबन्ध यथावत रहने सम्भावना छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।