गोयन्का ग्रुपका तीन कम्पनीले ६ महिनामा गरे साढे १ अर्ब रुपैयाँ बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोयन्का ग्रुपअन्तर्गत सञ्चालित तीन प्रमुख कम्पनीले चालू आर्थिक वर्षको पहिलो ६ महिनामै १ अर्ब ६१ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। खाद्यान्न तथा कृषि प्रशोधन क्षेत्रमा सक्रिय अरुण एग्रो इन्डस्ट्रिज प्रालि, गोयन्का फुड्स प्रालि र मनोज फुड्स प्रालि ले उल्लेखनीय व्यापार गर्दै दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ५६ करोड २२ लाख रुपैयाँको रेटिङ समेत गराएका छन्।

ग्रुपअन्तर्गतको अरुण एग्रो इन्डस्ट्रिज ले चालू आवको ६ महिनामा ९१ करोड ३० लाख रुपैयाँ कारोबार गरेको छ भने गोयन्का फुड्स प्रालि ले ४९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। त्यस्तै मनोज फुड्स प्रालि ले चालू आवको ८ महिनामा २० करोड ६० लाख रुपैयाँको कारोबार गरेको जनाएको छ।

अरुण एग्रोको व्यापार २ अर्ब नाघ्यो

सन् २००० मा स्थापना भएको अरुण एग्रो इन्डस्ट्रिज प्रालि ले गत आर्थिक वर्षमा २ अर्ब २ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीको व्यापार सन् २०२२ देखि २०२५ सम्म निरन्तर वृद्धि हुँदै आएको छ। सन् २०२४ मा १ अर्ब ७३ करोड ८० लाख, सन् २०२३ मा १ अर्ब ६९ करोड ५० लाख र सन् २०२२ मा १ अर्ब २९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो।

आँटा, चक्की आँटा, चोकर, मैदा, सुजी तथा दाल उत्पादन गर्दै आएको कम्पनीले गत आवमा १ प्रतिशत खुद नाफा कमाएको छ। कम्पनीको कुल नगद सञ्चय ३ करोड १० लाख रुपैयाँ रहेको छ। कम्पनीका अध्यक्ष नन्दलाल गोयन्का हुन्।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३९ करोड रुपैयाँको रेटिङ गराएको छ।

गोयन्का फुड्सको व्यापार १ अर्ब नाघ्यो

सन् १९९७ मा स्थापना भएको गोयन्का फुड्स प्रालि ले गत आवमा १ अर्ब ३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीको व्यापार सन् २०२४ मा ९८ करोड ८० लाख, सन् २०२३ मा ९७ करोड ७० लाख र सन् २०२२ मा ५७ करोड रुपैयाँ रहेको थियो।

गत आवमा कम्पनीले १.१४ प्रतिशत खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ०.३२ प्रतिशतको तुलनामा सुधारिएको अवस्था हो। कम्पनीको कुल नगद सञ्चय १ करोड ५० लाख रुपैयाँ पुगेको छ।

रुपन्देहीको मणिग्राम–६ स्थित प्लान्टबाट कम्पनीले वार्षिक ३ लाख ११ हजार २८० मेट्रिक टन दाल प्रशोधन गर्दै आएको छ। मनोजकुमार गोयन्का को ४५ प्रतिशत स्वामित्व रहेको कम्पनीले ५९ करोड ६ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ।

मनोज फुड्सको कारोबारमा गिरावट

सन् १९९२ मा स्थापना भएको मनोज फुड्स प्रालि ले गत आवमा २६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीको व्यापार सन् २०२४ मा २५ करोड ९० लाख, सन् २०२३ मा ३९ करोड ६० लाख तथा सन् २०२२ मा ७६ करोड ३० लाख रुपैयाँ रहेको थियो, जसले पछिल्ला वर्षहरूमा कारोबारमा गिरावट देखाउँछ।

कम्पनीले वार्षिक ७५ हजार मेट्रिक टन दाल तथा २२ हजार मेट्रिक टन पशुदाना उत्पादन गर्दै आएको छ। गोविन्दप्रसाद गोयन्का को ५४ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५८ करोड १६ लाख रुपैयाँको रेटिङ गराएको छ।

कर्जा रेटिङ २ अर्ब ५६ करोडभन्दा बढी

गोयन्का ग्रुपअन्तर्गतका तीन कम्पनीले संयुक्त रूपमा २ अर्ब ५६ करोड २२ लाख रुपैयाँ बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जा सुविधाका लागि रेटिङ गराएका छन्। खाद्यान्न प्रशोधन, दाल उत्पादन तथा कृषि उद्योग क्षेत्रमा सक्रिय यी कम्पनीहरू नेपालको खाद्य उद्योगमा स्थापित नामका रूपमा रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।