पशुहरूमाथिको हिंसा अन्त्यको आह्वान गर्दै राष्ट्रिय पशु अधिकार दिवस मनाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिपक घिमिरे काठमाडौं । राष्ट्रिय पशु अधिकार दिवसको अवसरमा शनिबार स्वयम्भूस्थित धर्मचक्र पार्कमा पशु अधिकारकर्मी, भेगन समुदाय तथा पशुप्रेमी नागरिकहरूको सहभागितामा विशेष कार्यक्रम सम्पन्न भएको छ।

एनिमल सेभ नेपालको आयोजनामा तथा विभिन्न पशुप्रेमी समूहहरूको सहकार्यमा आयोजित कार्यक्रममा पशु अधिकारको पक्षमा जनचेतना अभिवृद्धि, पशुहरूको सम्झना तथा आन्दोलनका उपलब्धिहरूको उत्सव मनाइएको थियो।

कार्यक्रमको सुरुआत स्वयम्भू गेटदेखि धर्मचक्र पार्कसम्मको शान्तिपूर्ण मौन र्‍यालीबाट भएको थियो। सहभागीहरूले पशुहरूमाथि हुने हिंसा, शोषण र क्रूरताप्रति जनचेतना फैलाउँदै सबै गैरमानव प्राणीका लागि कानुनी संरक्षण र सम्मान सुनिश्चित गर्नुपर्ने माग गरेका थिए।

र्‍यालीपछि आयोजित मुख्य कार्यक्रममा मानव क्रियाकलापका कारण ज्यान गुमाएका पशुहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा दुई मिनेट मौनधारण, अनुभव तथा कथावाचन, दियो प्रज्वलन र पुष्प अर्पण गरी पशुहरूको सम्मान गरिएको थियो।

यसैगरी, स्वयंसेवकहरूले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरी पशु अधिकार, पशु शोषणका विभिन्न स्वरूप तथा भेगन जीवनशैलीका फाइदाबारे जानकारी दिएका थिए।

कार्यक्रमको सञ्चालन लेखक तथा पशु मुक्ति अभियन्ता रघु आदित्य र युवा अभियन्ता आशिष सापकोटाले गरेका थिए। कार्यक्रममा सहभागीहरूले कविता, कथा तथा सांगीतिक प्रस्तुतिमार्फत पशुहरूले भोग्नुपरेका पीडा र अन्यायका विषय उठाएका थिए। साथै, ‘पशु अधिकार घोषणा–पत्र’ वाचन गरिएको थियो भने उपस्थितहरूलाई करुणामय तथा क्रूरता-मुक्त जीवनशैली अपनाउने प्रतिबद्धतामा हस्ताक्षर गर्न आग्रह गरिएको थियो।

कार्यक्रमको उत्सव चरणमा नेपालमा पशु अधिकार आन्दोलनले हासिल गरेका उपलब्धिहरूमाथि चर्चा गरिएको थियो। पत्रकार प्रकाश आजाद, अभिनेत्री सरिता राजोपाध्याय तथा अभियन्ता भास्कर जोशीलगायतले पशु अधिकार, करुणा र सामाजिक जिम्मेवारीबारे आफ्ना धारणा राखेका थिए।

आयोजकका अनुसार नेपालमा पछिल्ला वर्षहरूमा भेगन रेस्टुरेन्टहरूको विस्तार, पशु आश्रयस्थलहरूको स्थापना, पशु अधिकारप्रति बढ्दो जनचासो तथा पशु क्रूरताविरुद्धका कानुनी पहलहरूले सकारात्मक परिवर्तनको संकेत गरेका छन्।

कार्यक्रममा भेगन परिकारहरूको स्वाद परीक्षण, प्रेरणादायी वक्तव्य तथा सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिएको थियो। अन्त्यमा सहभागीहरूले सामूहिक रूपमा ‘क्रान्ति गीत’ प्रस्तुत गर्दै समूह फोटो खिचाएका थिए।

एनिमल सेभ नेपालका आयोजक दिपेश श्रेष्ठले राष्ट्रिय पशु अधिकार दिवसको आयोजनाले करुणामय जीवनशैली प्रवर्द्धन गर्न र पशुहरूको सम्मानका लागि समाजलाई एकजुट बनाउन सहयोग पुगेको बताए।

“यो दिवस आयोजना गरेको हाम्रो छैटौं वर्ष हो। यसले पशुहरूको अधिकार, सम्मान र स्वतन्त्रताका पक्षमा आवाज उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ,” उनले भने।

राष्ट्रिय पशु अधिकार दिवस विश्वभरका ५० भन्दा बढी देशका ९४ भन्दा बढी शहरहरूमा मनाइँदै आएको वार्षिक अभियान हो। यसको उद्देश्य पशु अधिकारबारे जनचेतना फैलाउनु, पशु शोषणको अन्त्यका लागि आवाज उठाउनु तथा करुणामय समाज निर्माणमा योगदान पुर्‍याउनु रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।