काठमाडौं । आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समारोहमा राष्ट्रपतिबाट नै सम्बोधन गराउन अनुरोध गर्दै राष्ट्रपति कार्यालय शीतलनिवासलाई औपचारिक पत्राचार गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालयमा उक्त पत्र बुझाएका हुन् । प्रधानमन्त्री कार्यालयले अनौपचारिक रूपमा पनि राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गरिरहेको बताइएको छ ।
प्रधानमन्त्री कार्यालयको तर्क अनुसार गणतन्त्रको संवैधानिक तथा राष्ट्रिय प्रतीक राष्ट्रपतिलाई मानिने भएकाले गणतन्त्र दिवसजस्तो विशेष अवसरमा राष्ट्रपतिबाटै सम्बोधन हुनु उपयुक्त हुने धारणा राखिएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले प्रधानमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गरेका छन् ।
यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि गणतन्त्र दिवसका औपचारिक समारोहहरूमा अनुपस्थित रहने गरेका थिए ।

Comment