ऐरावत पिक्चर हाउसमा ‘इहिरी’ र ‘द रिचुअल’ को विशेष प्रदर्शनी हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दाङका चलचित्रकर्मीले स्थानीय स्तरमै निर्माण गरेका दुई फिल्म ‘इहिरी’ र ‘द रिचुअल’ काठमाडौंमा प्रदर्शन हुने भएका छन्। रोल्पाका मगर समुदायको मौलिक परिवेशमा आधारित यी फिल्म शुक्रबारदेखि थापाथलीस्थित ऐरावत पिक्चर हाउस मा प्रदर्शन हुन लागेका हुन्।

दुवै चलचित्र दाङका निर्देशक विशाल रोका मगर ले निर्देशन गरेका हुन्। ‘द रिचुअल’ यसअघि भक्तपुर फिल्म फेस्टिभल र काठमाडौं हरर फिल्म फेस्टिभलमा समेत छनोट भइसकेको थियो।

‘द रिचुअल’ मा तीव्र सहरीकरणको प्रभावबीच संकटमा पर्दै गएको स्थानीय रीतिथिति र संस्कृतिको विषय उठाइएको छ। मगर समुदायको झाँक्री परम्परालाई केन्द्रमा राखेर कथावस्तु निर्माण गरिएको निर्देशक मगरले बताएका छन्।

त्यसैगरी ‘इहिरी’ पहिलोपटक सार्वजनिक प्रदर्शनमा आउन लागेको हो। रोल्पाको उपल्लो क्षेत्रमा छायाङ्कन गरिएको यो फिल्म निर्माण गर्न करिब १० वर्ष लागेको बताइएको छ। फिल्ममा रोल्पाका खाम मगर समुदायको जीवनशैली र संस्कृतिलाई चित्रण गरिएको छ।

निर्देशक मगर यसअघि निर्माण गरेको ‘लाहुरेनी’ डकुमेन्ट्रीबाट चर्चामा आएका थिए। उक्त डकुमेन्ट्रीले सन् २०२१ मा आयोजित Film Southasia मा उत्कृष्ट डेब्यु फिल्ममेकर अवार्ड प्राप्त गरेको थियो।

‘सिनेमाज अफ दाङ’ नाम दिइएको विशेष प्रदर्शनी एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ। पिक्चर हाउस डक्स्कुलले स्थानीय चलचित्र र युवा चलचित्रकर्मीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गत जनवरीदेखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।