काठमाडौं । नबिल बैंकले बैंकिङ गोपनीयता कायम राख्नु तथा ग्राहकको सूचनाको संरक्षण गर्नु बैंकिङ नैतिकता तथा अनुपालनको आधारभूत सिद्धान्त भएको बताएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैंकले प्रचलित कानून, नियमन, प्रावधान तथा निर्देशन एवं आन्तरिक सुशासन तथा सूचना सम्बन्धी नीतिहरूको पूर्ण रूपमा पालना गर्दै ग्राहक सूचनाको पूर्ण गोपनीयता कायम गर्न कटिबद्ध रहेको समेत बताएको छ ।
चार दशकभन्दा बढीको विश्वसनीय इतिहास भएको र जिम्मेवार बैंकले कुनै ग्राहकको व्यक्तिगत विवरण कुनै अनधिकृत व्यक्तिलाई हस्तान्तरण गर्ने वा जानकारी दिने सम्भावना नै नहुने बैंकको दाबी छ ।
केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केहि सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने आधारहीन तथा प्रमाणविहीन प्रचार–प्रसार भइरहेको भन्दै बैंकले यसप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘यस्ता भ्रामक सूचनाले जनमानसमा बैंकिङ सेवाप्रतिको विश्वासलाई प्रभावित पार्ने प्रयास गरेको देखिएकाले बैंक यस किसिमको भ्रमपूर्ण तथा प्रमाणविहीन सम्प्रेषणको स्पष्ट रूपमा खण्डन गर्दछ,’ बैंकले भनेको छ ।
सामाजिक सञ्जाल फेसबूकमा कन्टेन्ट क्रियटर टंक दाहालले बैंकले ग्राहकको खाता र त्योसँग सम्बन्धित सम्पूर्ण कुरा “गोप्य राख्नु” उसको कानूनी दायित्व भएको भन्दै सबै विवरण छताछुल्ल पार्ने बैंक र बैंकका कर्मचारीलाई पनि कारबाही गर्नुपर्ने बताएका थिए । बैंकले यसपछि खण्डन प्रकाशन गराएको हो ।
गत वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरु” शीर्षकको समाचारमा स्पष्ट रूपमा कान्तिपुर दैनिकले “अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैंकिङ कारोबारको विवरण…..” भनी उल्लेख गरेको समेत बैंकले जनाएको छ। उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा विभिन्न मितिमा भएका कारोबारहरू प्रकाशित भएको तथ्यलाई नजरअन्दाज गर्दै केही व्यक्तिहरूद्वारा सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित रूपमा दुष्प्रचार गरिएकोप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको बैंकको भनाइ छ ।
कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, ग्राहकको आधिकारिक प्रतिनिधि, वा नियामकीय तथा अनुसन्धानकारी निकायहरूले कानूनी प्रक्रिया अनुसार मागेको अवस्था बाहेक बैंकले कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराउन मिल्दैन, गराउँदैन र गराएको पनि नभएको बैंकले जनाएको छ।
बैंकको कुनै पनि ग्राहकको विवरण कसैले लिएको अवस्थामा बैंकको रेकर्डमा कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि निकालेको हो भन्ने सम्पूर्ण विवरण तथा लगत बैंकको प्रणाली अर्थात् कोर बैंकिङ सिस्टममा सुरक्षित रूपमा अभिलेखित रहने बैंकले समेत बैंकको भनाइ

Comment