ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा आयोजित एकीकृत जनस्वास्थ्य शिविरमा ३९९ जनाले आयुर्वेदिक स्वास्थ्य सेवा लिएका छन्। गत चैत २९ र ३० गते सञ्चालन भएको उक्त शिविरमा स्वास्थ्य सेवाप्रति स्थानीयको उल्लेखनीय सहभागिता देखिएको हो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुर का अनुसार शिविरमा सहभागीमध्ये १४७ जना पुरुष र २५२ जना महिला रहेका छन्। त्यसमध्ये १३३ जना ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक रहेको कार्यालय प्रमुख डा. पुनम नेपालले जानकारी दिइन्।
कोन्ज्योसोम गाउँपालिका–१ मा सञ्चालन गरिएको शिविरमा सेवा लिन स्थानीयलाई ललितपुर महानगरपालिकाबाट करिब दुई घण्टाको कच्ची सडक यात्रा गरेर पुग्नुपर्ने बाध्यता रहेको थियो। राजधानी शहर नजिकै भए पनि कोन्ज्योसोम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको तथ्यले शिविरमार्फत उजागर गरेको छ।
स्थानीयवासीलाई सामान्य स्वास्थ्य सेवाका लागि समेत प्रादेशिक अस्पतालसम्म जानुपर्ने अवस्था रहेको चिकित्सकहरूको भनाइ छ। साथै, स्वास्थ्यसम्बन्धी जनचेतनाको कमी पनि समुदायमा देखिएको जनाइएको छ।
शिविरमा उच्च रक्तचाप, मधुमेह, अम्लपित्त, दम, हड्डी खिइने समस्या, कम्मर दुखाइ, पाइल्स, फिसर तथा छालासम्बन्धी विभिन्न रोगका बिरामीहरूले सेवा लिएका थिए।
त्यसैगरी, शिविरमा आँखाको जाँच, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमार्फत छातीको स्क्रिनिङ तथा सामान्य शल्यक्रियासमेत गरिएको थियो। विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा बिरामीको जाँच गरिएको र करिब ६० प्रकारका औषधिहरू वितरण गरिएको थियो।
शिविरमा स्वस्थ जीवनशैलीसम्बन्धी परामर्शसँगै योग अभ्यास, सूक्ष्म व्यायाम र प्राणायामसमेत सिकाइएकाले सहभागीहरू लाभान्वित भएको आयोजकले जनाएको छ।
स्वास्थ्य सेवाको पहुँच विस्तार, रोग पहिचान र जनचेतना अभिवृद्धिमा यस्ता शिविरहरू महत्वपूर्ण हुने भन्दै स्थानीयले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Comment