अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसंग छलफल।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को प्रतिनिधि मण्डलले मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग अटोमोबाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) सूचीकृत स्टिकर टाँस्ने सम्बन्धमा विभागले जारी गरेको प्रेस विज्ञप्तिबारे छलफल गरेको छ।

नाडाले मिति २०८२ चैत ३० गते विभागले जारी गरेको विज्ञप्तिप्रति आफ्नो विशेष ध्यानाकर्षण भएको जनाएको छ। विभागले विदेशबाट आयात गरी नेपालमा बिक्री–वितरण हुने सबै वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने तथा बिक्रीका क्रममा विल–विजक जारी गर्नुपर्ने व्यवस्थाको नाडाले स्वागत गरेको छ।

तर, कार्यान्वयनका क्रममा देखिन सक्ने व्यावहारिक समस्याबारे नाडाले विभिन्न चासो र जिज्ञासा राख्दै थप स्पष्टताको माग गरेको छ। विशेषगरी पुरानो स्टकमा रहेका सामानको व्यवस्थापन कसरी गर्ने, भन्सार बिन्दुमै स्टिकर टाँस्ने व्यवस्था कत्तिको व्यवहारिक हुन्छ भन्ने विषयमा नाडाले प्रश्न उठाएको छ। नाडाले आफूहरूले सधैं निष्पक्ष व्यापार र पारदर्शिता प्रवर्द्धन गर्दै आएको समेत स्पष्ट पारेको छ।

छलफलका क्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐन, २०३५ मा रहेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन लागिएको बताए। उनले वर्तमान सरकारको १०० बुँदे शासन कार्यक्रममै यस विषयलाई प्राथमिकताका साथ समेटिएको उल्लेख गर्दै विभाग यसको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध रहेको धारणा राखे।

ज्ञवालीले कार्यान्वयनका क्रममा देखिने अवरोध हटाउन विभाग तयार रहेको जनाउँदै व्यवसायी पक्षबाट समेत सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताए। साथै, स्टिकरसहित MRP अनिवार्य गर्ने विषयमा उद्योगी तथा आयातकर्ताप्रति विभाग कडाइका साथ प्रस्तुत हुने चेतावनी दिँदै आवश्यक कानुनी सुधारका लागि नाडाबाट सुझाव अपेक्षा गरिएको उल्लेख गरे।
उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल, सह–कोषाध्यक्ष निलमणी पाठक, केन्द्रीय कार्यसमिति सदस्य तथा स्पेयर पार्ट्स समितिका सभापति दिपेन्द्रकुमार मिश्र र सदस्य नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।