काठमाडौं । नेकपा एमाले का सचिव महेश बस्नेत ले गृहमन्त्री सुधन गुरुङ लाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्।
सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ।
बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दीपक भट्टको नाम शीर्ष नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा सँग जोडेर बदनाम गर्ने प्रयास भएको उल्लेख गरेका छन्। तर अनुसन्धानक्रममा ती नेताहरूसँग सम्बन्धित कुनै प्रत्यक्ष कनेक्सन नदेखिएको उनले दाबी गरेका छन्।
उनका अनुसार, उल्टै व्यवसायी भट्टको सम्बन्ध गृहमन्त्री गुरुङसँग करिब २५ लाख रुपैयाँ बराबरको शेयरमार्फत जोडिएको तथ्य बाहिरिएको छ। बस्नेतले उक्त विषयले गम्भीर नैतिक प्रश्न उठाएको बताएका छन्।
त्यसैगरी, उनले गौरीबहादुर कार्की आयोग का सदस्य विज्ञानराज शर्माको नाममा समेत करिब १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको दाबी गरेका छन्।
बस्नेतले पारदर्शिता र सुशासन कायम गर्न सम्बन्धित विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको जोड दिएका छन्।

Comment