काठमाडौं । रैथाने नेपाली खानाको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यसहित नुवाकोटको ककनीमा शनिबार एक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा पाककला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई “पाककला गौरव सम्मान” प्रदान गरिएको थियो । साथै, विभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य व्यक्तित्वहरूलाई कदरपत्र समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख वक्ता अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स नेपाल शाखाका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन विकासमा रैथाने खानाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “नेपाली परिकारलाई सही ढंगले ब्रान्डिङ गर्न सकियो भने अन्तरराष्ट्रिय बजारमा यसको ठूलो सम्भावना छ,” उनले भने, “घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउनु आजको आवश्यकता हो।”
गैरआवासीय नेपाली संघकी पूर्वअध्यक्ष रविना थापाले नेपाली रैथाने खाना स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायी रहेको बताइन् । “आधुनिक जीवनशैलीले बढाएको अस्वस्थ खानाको विकल्पका रूपमा रैथाने परिकारलाई प्राथमिकता दिनुपर्छ,” उनको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालको विविध भूगोलले फरक–फरक स्वाद र पहिचान बोकेका परिकार उत्पादन गरेको उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले रैथाने खानाको विकासले स्थानीय पाककला क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले यस्ता परिकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताए ।
त्यसैगरी, सोफा उत्पादक सङ्घका अध्यक्ष तारालाल धरेलले रैथाने खानालाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने सम्भावना औंल्याए भने रैथाने खानाका अभियन्ता तिलक ढकालले यस्ता परिकारले शरीरलाई आवश्यक पोषण प्रदान गर्नुका साथै समाजलाई स्वस्थ बनाउन महत्वपूर्ण योगदान दिने धारणा राखे ।
मिडिया क्षेत्रबाट ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्व बजारमा चिनाउने आवश्यकता औंल्याए भने न्यूजलाइन्स मिडियाकी सम्पादक सरिता ढकालले यससम्बन्धी सचेतना र प्रवर्द्धनका लागि निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रमले नेपाली रैथाने खानाको संरक्षण, प्रवर्द्धन र व्यावसायीकरणका लागि बहुआयामिक सहकार्य आवश्यक रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

Comment