काठमाडौं । गोदावरी बिजनेस अर्गनाइजेसनअन्तर्गत संचालित गोदावरी स्टिल्स लिमिटेडको व्यापारिक ग्राफ पछिल्लो वर्ष खुम्चिएको देखिएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको कारोबार २१.७७ प्रतिशतले घटेर ५ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक वर्ष २०२४ मा कम्पनीले ६ अर्ब ४० करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो।
चुनौतीपूर्ण आर्थिक अवस्था र निर्माण क्षेत्रमा आएको सुस्तताका कारण बिक्री र आम्दानी दुवै घटेको कम्पनीले जनाएको छ। सन् २०२३ मा पनि कम्पनीले ६ अर्ब ३० करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।
व्यापार घटे पनि कम्पनीको नाफामा भने उल्लेख्य सुधार देखिएको छ। सन् २०२४ मा ४० लाख रुपैयाँ मात्रै रहेको खुद नाफा सन् २०२५ मा बढेर ४ करोड रुपैयाँ पुगेको छ। यद्यपि कच्चा पदार्थको मूल्यमा आएको उतारचढाव र बिक्री दर घटेकाले सञ्चालन नाफा मार्जिन ९.६० प्रतिशतबाट घटेर ७.७६ प्रतिशतमा पुगेको छ।
कम्पनीको वित्तीय संरचना अझै दाबीयोग्य चुनौतीमै छ। लगातार पूँजीगत खर्चका कारण गियरिङ रेशियो ३.०५ गुणा रहेको छ, जसमा अघिल्लो वर्षको ३.९८ गुणाको तुलनामा सुधार देखिए पनि ऋण भार उच्च नै छ। सन् २०२५ मा ५३ करोड रुपैयाँ बराबरको नयाँ इक्विटी थपिएपछि वित्तीय संरचनामा आंशिक सन्तुलन आएको कम्पनीले बताएको छ।
ब्याज तिर्ने क्षमता मापन गर्ने ब्याज कभरेज अनुपात १.१२ गुणाबाट बढेर १.३५ गुणा पुगेको छ। तर, कार्यगत पूँजी चक्र २६७ दिनबाट बढेर ३०६ दिन पुगेका कारण कम्पनीको बैंक ऋणप्रतिको निर्भरता झनै बढेको देखिन्छ।
कुल ७ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक कर्जा सुविधाका लागि कम्पनीले गराएको रेटिङमा केयर रेटिङ्स नेपालले दीर्घकालीन कर्जाका लागि ‘केयर–एनपी डबल बी माइनस’ र अल्पकालीन कर्जाका लागि ‘केयर–एनपी ए फोर’ रेटिङलाई निरन्तरता दिएको छ। यसले कम्पनीमा मध्यम स्तरको डिफल्ट जोखिम रहेको संकेत गर्दछ।
कच्चा पदार्थको ७५ प्रतिशत आयातमा निर्भरता, विदेशी विनिमय दरको जोखिम, ब्याजदर परिवर्तन तथा स्टिल उद्योगको उच्च प्रतिस्पर्धा कम्पनीका लागि प्रमुख चुनौती मानिएका छन्।
मुन्ना प्रसाद सेनुरिया बनियाको नेतृत्वमा रहेको गोदावरी स्टिल्सको उद्योग रौतहटको चन्द्रनिगाहापुरमा अवस्थित छ। ‘गोदावरी स्टिल’ ब्रान्ड नाममा टीएमटी छड, प्लेन स्टिल बार र बिलेट्स उत्पादन गर्दै आएको कम्पनीले वार्षिक १ लाख ४४ हजार मेट्रिक टन उत्पादन क्षमता वृद्धि गरी २ लाख १६ हजार मेट्रिक टन पुर्याउने लक्ष्य राखेको छ।

Comment