काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको नयाँ फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक भएको गीतमा नव–अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन्।
तुलसी घिमिरेको शब्द तथा रञ्जित सिंह गजमेरको संगीतमा तयार गीतमा भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ र अश्मिता अधिकारीको स्वर छ। गीतमा विपिन कार्कीको र्याप पनि समावेश गरिएको छ। नृत्य निर्देशन कबिराज गहतराजले गरेका छन्।
निर्देशक घिमिरेले लामो अंतरालपछि सामाजिक सन्देशयुक्त कथावस्तु चयन गरेर फिल्म तयार पारेको बताए। ग्रामीण परिवेशमा छायांकन गरिएको गीतले गाउँको आकर्षण, विदेशिने युवाको बाध्यता र पहाडको सौन्दर्य चित्रण गर्छ।
गीत सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले घिमिरे परिवारको नेपाली फिल्म क्षेत्रप्रति रहेको समर्पणको प्रशंसा गरे। फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठलगायत कलाकारको अभिनय छ। कान्छी छोरी पञ्चमीलाई घिमिरेले यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यू गराएका छन्।
वैशाख १ गते नयाँ वर्षको दिन प्रदर्शन हुने ‘पहाड’ ले विदेशिएको युवाशक्ति र यसले पहाडी समाजमा पारेको प्रभावलाई कथामार्फत प्रस्तुत गर्नेछ।

Comment