काठमाडौँ । आगामी चैत ६ र ७ मा ‘भक्तपुर फिल्म फेस्टिभल’ हुने भएको छ।
भक्तपुरका युवा फिल्मकर्मीको समूहले कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा महोत्सव आयोजना गर्न लागेको हो। युवा फिल्मकर्मीहरू किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतले महोत्सव आयोजना गर्न लागेका हुन्।
भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले जानकारी दिए।
महोत्सव संयोजक स्मित गिरीले स्वतन्त्र (इन्डी) फिल्मकर्मीका फिल्म र उनीहरूका फिल्मलाई प्लेटफर्म दिन पनि महोत्सव आयोजना गर्न लागिएको बताइन्। स्मितसँगै एभरेस्ट एकेडेमीमा फिल्म अध्ययन गरेका सफल वैद्य पनि महोत्सव संयोजक हुन्।
दुई दिनसम्म चल्ने महोत्सवमा २४ फिल्म प्रदर्शन हुनेछन्। महोत्सवको ओपनिङमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाइनेछ।
महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘संग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्म देखाइनेछन्।
सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’को प्रदर्शनसँगै महोत्सवको समापन हुनेछ। महोत्सवमा २ नेवा संस्कृति समेटिएका फिल्म ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ देखाइनेछ।
महोत्सवमा फिल्मकर्मी केशव पाण्डेले कथा लेखन सम्बन्धी कार्यशालामा बोल्नेछन्। फागुन ३० मा महोत्सवले रुशेल शिल्पकारसँगको सहकार्यमा भक्तपुरमा ‘हेरिटेज वाक’ पनि आयोजना गर्ने जनाएको छ।

Comment