ध्वनि प्रदूषण गराउने चालक कारवाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ ।

चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय रहेको ट्राफिक प्रहरीले आइतबार मात्रै चर्को आवाज बनाएर मोटरसाइकल चलाउने २० चालकलाई कारवाही गरेको हो ।

महाशाखाले शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने तथा स्वरुप परिवर्तन, लापरबाही तथा जिकज्याक रुपमा चलाउने कार्य कानून विपरीत भएकाले त्यसविरुद्ध अभियान थालेको छ । महाशाखाका प्रमुख भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनाका साथै सर्वसाधारणमालाई समेत असर पुग्ने बताए । जथाभावी रुपमा साइलेन्सरलाई परिवर्तन गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरिएको प्रहरी वरिष्ठ उपरीक्षकले ढकालले जानकारी दिए ।

त्यस्ता मोटरसाइकल निकै तीव्र गतिमा कुदाइने गरेको पाइन्छ । महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार चालू आर्थिक वर्षमा मात्रै यसअघि ३४ मोटरसाइकल चालकलाई कारबाही गरिसकिएको छ । त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवानास्वरुप रु एक हजारदेखि रु १५ हजारसम्म जरिवाना गराइएको छ ।

यस्ता किसिमका मोटरसाइकल कतै कुदेको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराइदिनसमेत प्रहरीले अनुरोध गरेको छ । महाशाखाले यातायात क्षेत्रको ठगी नियन्त्रणमा समेत विशेष टोली परिचालन गरिएको जनाएको छ । सादा पोशाकमा प्रहरी परिचालन गरी यस्ता गतिविधि नियन्त्रण अभियान सुरु भएको जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।