चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएकी मिना खरेलले आफूलाई मतदाताले विजयी गराए उक्त क्षेत्रमा “ठग प्रवृत्तिको राजनीति” अन्त्य हुने दाबी गरेकी छन्।
घरदैलो अभियानका क्रममा मतदातासँग संवाद गर्दै उनले आफ्नो जितलाई व्यक्तिगत उपलब्धिभन्दा पनि समाज, देश, महिला, बालबालिका तथा सिमान्तकृत समुदायको साझा जितका रूपमा व्याख्या गरिन्। “मिनाले जिते भने समाजले जित्नेछ, देशले जित्नेछ, महिलाले जित्नेछ, बच्चाले जित्नेछ, भ्रमले जित्ने छैन, ठगले जित्ने छैन,” उनले भनिन्।
खरेलले आफू लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय रहँदै आएको उल्लेख गर्दै आफूमाथि कुनै दाग, भ्रष्टाचार वा हिंसासम्बन्धी आरोप नरहेको दाबी गरिन्। उनले कसैसँग बेइमानी नगरेको र मतदातासँग पनि कहिल्यै बेइमानी नगर्ने प्रतिबद्धता व्यक्त गरिन्।
चितवन–२ अन्तर्गत भरतपुर महानगरपालिका, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका समेटिएका छन्। उनले उक्त क्षेत्र भौगोलिक तथा सामाजिक रूपमा विविध रहेको उल्लेख गर्दै नारायणगढ बजारजस्ता सहरी क्षेत्रदेखि चेपाङ, दलित तथा अन्य सिमान्तकृत समुदाय बसोबास गर्ने दुर्गम बस्तीसमेत समेटिएको बताइन्। सबै समुदायलाई समान विकासको पहुँच सुनिश्चित गर्ने आफ्नो प्राथमिकता रहने उनले स्पष्ट पारिन्।
विगतमा निर्वाचित प्रतिनिधिहरूले बजेट ल्याएको दाबी गरे पनि जनताको नाममा खर्चको स्पष्ट विवरण नदिएको आरोप लगाउँदै उनले अब पारदर्शिता र यथार्थमा आधारित निर्णय गर्ने समय आएको बताइन्। निर्वाचन नजिकिँदै जाँदा चितवन–२ मा उम्मेदवारहरूको घरदैलो अभियान तीव्र बनेको छ।

Comment