मुग्लिन–मलेखु सडक : कालोपत्र तीव्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ ।

विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । यही पुस १५ मा म्याद सकिएपछि ६ महिनाका लागि म्याद थप गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म ४० प्रतिशत प्रगति भएको छ । सो सडकको कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र गरिसकिएको छ । धादिङको बाँदरेमा कालोपत्र भइरहेको छ । फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखेर कालोपत्रको अन्तिम तयारी गरिएको उनले जानकारी दिए ।

उनले भने, “हामीले अहिले कालोपत्रका लागि तीव्र तयारीमा काम गरिरहेका छौँ ।” अबको मौसम कालोपत्रका लागि उपयुक्त हुने भएकाले तयारी तीव्र गतिमा भएको हो । झण्डै २०० मजदुर, कर्मचारी, प्राविधिक कालोपत्रको काम जुटिरहेको उनले बताए। यसैगरी छ वटा पुलमध्ये हुग्दि र चरौदीको पुलको फाउण्डेसनपछिको काम अहिले भइरहेको छ । यस्तै कृष्णभिरको पहिरो रोकथामको काम पनि भइरहेको उनले जानकारी दिए ।

कालोपत्रका लागि सामग्री अभाव हुने अवस्थामा पुगेको छ । अहिले धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने देखिएको उनको भनाइ छ । सामग्री पाएमा अब काम नरोकिने दराई बताउँछन्।

यस्तै नाली, बेरियरलगायतका सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् । सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए।

उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ । शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।