सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक जना सव–इन्जिनियरको गोली प्रहार गरी हत्या गरिएको छ। मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सिरहाको सुखीपुर नगरपालिका निवासी यादव मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका थिए। आइतबार साँझ अपरिचित व्यक्तिहरूले उनलाई घरबाहिर बोलाएर गोली प्रहार गरेका थिए। उनको देब्रे छातीमा गोली लागेको बताइएको छ।
गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए।
घटनापछि प्रहरीले दोषीको खोजी कार्य तीव्र पारेको छ। मलंगवाका विभिन्न नाकाहरूमा सुरक्षा जाँच कडा पारिएको छ भने शंकास्पद स्थानहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
“सव–इन्जिनियर यादवमाथि किन र कसले गोली प्रहार गर्यो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ,” डीएसपी राईले भने, “घटनास्थललाई नियन्त्रणमा लिएर अपराधीको खोजी जारी राखेका छौँ।”

Comment