विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गतको वैदेशिक हुलाक भन्सार शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृतसहित तीन कर्मचारी घुस र स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालयको पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा (नासु) छवि प्रसाद रिजाल रहेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार डिल्लीबजारस्थित कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको टङ्गालस्थित कार्यालयबाट टोली खटिएको थियो ।

खानतलासीका क्रममा कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको १० हजार र स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ फेला परेको थियो । यस्तै उनको साथबाट थप ९६ हजार ७० रुपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ ।

यस्तै, नासु छवि प्रसाद रिजालको साथबाट घुसबापतको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ । सबै कर्मचारीको साथ र कार्यकक्षबाट गरी कुल २ लाख ६८ हजार २८८ रुपैयाँ नगद र विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । विदेश पार्सल पठाउने क्रममा कर्मचारीहरूले सेटिङ मिलाएर सेवाग्राहीलाई दुख दिने र रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।