रसुवा । रसुवाको राजनीतिक परिदृश्यमा यसपटक परिवर्तनको स्पष्ट संकेत देखिन थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार बसन्त भट्ट इमान्दारिता, सेवाभाव र कार्यकेन्द्रित दृष्टिकोणका कारण जनताबीच तीव्र रूपमा लोकप्रिय बन्दै गएका छन्।
लामो समयदेखि समाजसेवामा सक्रिय भट्टले पुराना शक्ति संरचना तोड्नुपर्ने आवश्यकता मात्र होइन, त्यसका लागि आवश्यक रणनीति र कार्यक्षमतासमेत आफूमा रहेको दाबी गर्दै आएका छन्। विगतमा सांसद भइसकेका नेपाली कांग्रेसका मोहन आचार्य र नेकपा (एमाले) का प्रेम तामाङसँगको प्रतिस्पर्धामा भट्ट केवल उम्मेदवारका रूपमा सीमित देखिँदैनन्, बरु उनी जनआकांक्षाको प्रतिनिधिका रूपमा उभिँदै गएका छन्।
भाषणभन्दा परिणाममा विश्वास गर्ने भट्टको कार्यशैलीले रसुवाली मतदाताको भरोसा जित्दै गएको स्थानीयहरू बताउँछन्। उनको राजनीतिक दृष्टिकोण स्पष्ट छ—जिल्लाको दिगो विकास, स्थानीयस्तरमै रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य, पर्यटन क्षेत्रको पुनर्जागरण, उद्योग र कृषिमा जनताको प्रत्यक्ष सहभागिता, अन्तर्राष्ट्रिय सीमाको व्यवस्थित सञ्चालन तथा जलविद्युत् परियोजनामा स्थानीय स्वामित्व सुनिश्चित गर्नु।
कर्पोरेट सामाजिक उत्तरदायित्व लाई कागजी प्रतिबद्धतिमा सीमित नराखी जनजीवनसँग जोड्नुपर्ने उनको धारणा अन्य उम्मेदवारभन्दा फरक देखिन्छ। बारम्बार निर्वाचित भइसकेका पुराना अनुहारभन्दा जनसमर्थन क्रमशः भट्टतर्फ उन्मुख हुँदै गएको संकेत जिल्लामा देखिन थालेको छ।
जिल्लाको आवाज संसदमा दृढताका साथ उठाउने तयारी र स्पष्ट दृष्टिकोण आफूमा रहेको बताउने भट्ट निर्वाचनका बेला मात्र होइन, निरन्तर जनसम्पर्कमा रहने उम्मेदवारका रूपमा परिचित छन्। निर्वाचनपछि राजधानीमै सीमित हुने पुरानो राजनीतिक प्रवृत्तिभन्दा बाहिर उभिनु उनको विशेषता रहेको समर्थकहरूको भनाइ छ।
यसपटक रसुवामा ‘घण्टी’ बज्ने सम्भावना बलियो देखिनुको मुख्य आधार युवा पुस्ताको व्यापक समर्थन हो। जेन्जी आन्दोलनबाट उठेको चेतना र त्यसको संवेदनशीलतालाई बुझ्न सक्ने क्षमता भएका कारण भट्ट युवाको मात्र होइन, परिवर्तन चाहने सबै वर्गको साझा उम्मेदवार बन्दै गएका छन्।
भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा निर्दोष युवाहरूको हत्या भएपछि आफ्नै परिवारभित्रबाटै अन्यायविरुद्ध आवाज उठाउनु भट्टको मानवीय साहसको उदाहरणका रूपमा हेरिएको छ। यही घटनाले उनलाई केवल राजनीतिक अनुहार मात्र नभई विवेक र संवेदनाको प्रतिनिधिका रूपमा स्थापित गरेको स्थानीयहरू बताउँछन्।
ठूला सपना बेच्नेभन्दा पनि गर्न सकिने काममार्फत परिवर्तन सम्भव छ भन्ने विश्वास बोकेका यी युवा उम्मेदवारलाई जिताउनु अहिले रसुवालीको आवश्यकता बन्दै गएको चर्चा चल्न थालेको छ। अन्य दलमा आवद्ध धेरै व्यक्तिहरू समेत नयाँ अनुहार र इमानदार नेतृत्वको पक्षमा खुलेर उभिन थालेका छन्।
तामाङ समुदायको बहुल्यता रहेको रसुवामा सो समुदायको विश्वास पनि क्रमशः भट्टतर्फ सर्दै गएको संकेत देखिन थालेको छ। यसले केवल निर्वाचन परिणामको सम्भावनामात्र होइन, रसुवाको राजनीतिक दिशानिर्देशन नै परिवर्तन हुनसक्ने सन्देश दिएको विश्लेषकहरू बताउँछन्।

Comment