म मधेस जाँदैछु किनभने म मधेससँग जोडिन चाहन्छु। म काठमाडौंका कथा–अनुभवहरू मधेसमा लिएर जान चाहन्छु, र मधेसका कथाहरू, पीडा र व्यथा बुझ्दै काठमाडौं ल्याएर सुनाउन चाहन्छु।
म विश्वास गर्छु—सबैको सम्मान रहँदा मात्रै हामी सबै नेपालीहरूको सम्मान रहन्छ। म उत्तेजनापूर्ण राजनीतिमा विश्वास राख्दिनँ, तर अधिकार बिना एकता पनि संभव छैन।
काठमाडौं क्षेत्र नम्बर ४ का सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आमाबुबा सबैलाई हार्दिक नमस्कार।
आज म फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा उम्मेदवार बनेर सर्लाही क्षेत्र नम्बर ४ जाँदैछु। जानु अघि तपाईंहरूसँग केही कुरा साटेर जान चाहन्छु।
पहिलो संविधानसभाको निर्वाचनमा म नेपाली कांग्रेसको समानुपातिक सूचीबाट उम्मेदवार थिएँ। त्यतिबेला आदरणीय सुप्रभा दिदीलाई क्षेत्र नम्बर ४ मा उम्मेदवारको रूपमा लिएर मैले चपली, चुनीखेल, महँकाल, कपन र काठमाडौं महानगरपालिकाका विभिन्न वडा–घर–चोकमा भेटघाट गरेको दिनहरू अझै सम्झन्छु। तपाईंहरूले माया गर्नुभयो, त्यो माया मेरो लागि प्रेरणा भयो।
२०७० सालमा फेरि क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेर तपाईंहरूले मलाई विजयी बनाइदिनुभयो। त्यस बेलामा हामीले नाकाबन्दी, भूकम्प जस्ता चुनौतीहरू सामना गर्यौँ, तर सँगसँगै समुदायसँग मिलेर काम गर्यौँ। विधायकको रूपमा जिम्मेवारी निर्वाह गर्न मैले इमानदारीपूर्वक प्रयास गरेँ।
छोटो समयका लागि मन्त्री बनेको अवसर पनि तपाईंहरूले सराहना गर्नुभयो। २०७४ सालको निर्वाचन सजिलो थिएन—देशभर धेरैजसो स्थानमा कांग्रेसको उम्मेदवार निर्वाचित भएनन्, तर तपाईंहरूले मलाई फेरि विश्वास र मत दिएर निर्वाचित गराउनुभयो। कोभिड महामारीमा पनि समुदायसँग मिलेर काम गर्यौँ।
युवा, महिला, रोजगारी, शिक्षा र स्वास्थ्य सम्बन्धी थुप्रै अभियानहरू हामीले संचालन गर्यौँ। सांसदको रूपमा संसदमा उठाउनुपर्ने विषयहरू सधैं प्राथमिकता थिए, तर समुदायसँग मिलेर विकासका काममा सक्रिय भूमिका निर्वाह गर्न मैले निरन्तर प्रयास गरेँ।
२०७९ सालको निर्वाचनमा महामन्त्रीको रूपमा मैले उम्मेदवारी दियोँ, तपाईंहरूले अझ ठूलो मतान्तरले मलाई जिताउनुभयो। पार्टीको केन्द्रीय सदस्य, महामन्त्री हुँदै आज म यहाँसम्म आएको छु, र लगातार तीन पटक यस क्षेत्रबाट निर्वाचित भइसकेको छु। तपाईंहरूको माया, आशीर्वाद र विश्वास मेरो जीवनको ठूलो शक्ति हो।
म यहाँको जात्रा, पर्व, पूजा–महोत्सवमा सधैं सहभागी भएँ। तपाईंहरूको बीचमा परिवार जस्तो महसुस गरें।
हालै म पार्टीको सभापति बनेको छु। यसै क्रममा मलाई पार्टीका साथीहरूले भन्नुभयो—“कुनै हालतमा निर्वाचन क्षेत्र छोड्नु हुँदैन।” तपाईंहरूको समर्थन र माया यस निर्णयमा मेरो विश्वासलाई अझ बलियो बनाएको छ।
मेरो बाआमा पहाडबाट काठमाडौं आएका हुनुहुन्छ, त्यसैले पहाडको जीवन मैले नजिकबाट बुझेको छु। काठमाडौंमा जन्मिएँ, हुर्किएँ। तर मलाई मधेससँगको सम्बन्ध अझ प्रगाढ बनाउनु आवश्यक छ। यो केवल औपचारिक सम्बन्ध होइन—म सिङ्गो देशको मुद्दाहरूको लागि मधेससँग जोडिन चाहन्छु।
सर्लाही क्षेत्र नम्बर ४ का साथीहरूले मलाई माया र विश्वासले बोलाउनु भएको छ। त्यही कारण म यहाँ आइरहेको छु। यसले मलाई देशव्यापी समस्याहरू समाधान गर्न थप क्षमता दिन्छ भन्ने विश्वास छ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार सचिन तिमल्सिनालाई पार्टीले प्रस्तुत गरेको छ। तपाईंहरूले उसबारे थप जानकारी पाउनुहुनेछ।
म सधैं तपाईंहरूको माया र आशीर्वाद सम्झन्छु। म सिङ्गो नेपालको हुँ भन्ने विश्वासका साथ सर्लाही क्षेत्र नम्बर ४ मा आइरहेको छु। मधेसको अनुभव र काठमाडौंको अनुभवलाई मिसाएर अझ प्रगाढ, सक्षम र जनमुखी काम गर्न प्रतिबद्ध छु।
फेरि तपाईंहरू सबैलाई धन्यवाद, आशीर्वाद, माया र विश्वासका लागि।
धन्यवाद।

Comment