काठमाडौं । नेपाली कांग्रेसका नेता अबुल हुसेन अन्सारीले पार्टी परित्याग गरेका छन्। कांग्रेसभित्र बढ्दो आन्तरिक किचलो र स्वार्थ केन्द्रित राजनीतिबाट विक्षिप्त बनेको भन्दै उनले कांग्रेस त्यागेर नेकपा (एमाले) प्रवेश गरेको घोषणा गरेका हुन्।
पार्टी परित्यागको घोषणा गर्दै अन्सारीले कांग्रेसमा बिताएको राजनीतिक यात्राको स्मरण गरेका छन्। उनले भने, “राजनीतिका थुप्रै उकाली–ओराली, आरोह–अवरोह नेपाली कांग्रेसमै रहेर पार गरेँ। तर पछिल्लो समय कांग्रेसभित्र देखिएको किचलो र स्वार्थ केन्द्रित राजनीतिले मलाई मानसिक रूपमा थकित बनायो। कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएको अनुभूति भयो।”
कांग्रेस परित्यागको निर्णय आफूले ठूलो पीडासहित र भारी मनले गरेको उनको भनाइ छ। “त्यसैले आज ठूलो दुःखका साथ नेपाली कांग्रेस त्यागेको घोषणा गर्दछु,” अन्सारीले बताएका छन्।
अन्सारीले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट सुनसरी क्षेत्र नं. ४ बाट उम्मेदवारी दिने पनि जानकारी दिएका छन्। उनको एमाले प्रवेशलाई सुनसरीको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

Comment