काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले देशैभर विद्युतीय सवारी साधन (ईभी) का लागि चार्जिङ पूर्वाधार र सेवा केन्द्रहरूको सञ्जाललाई व्यापक रूपमा विस्तार गरेको छ।
ईभी प्रयोगकर्तालाई सहज, झन्झटमुक्त र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो पूर्वाधारमा उल्लेख्य वृद्धि गरेको जनाएको छ। हाल सिप्रदीको नेटवर्कअन्तर्गत नेपालभर १८५ भन्दा बढी चार्जिङ स्टेशनहरू सञ्चालनमा आइसकेका छन्।
यस सञ्जालले लामो दूरीको यात्रा गर्ने ईभी चालकहरूलाई चार्जिङको चिन्ताबाट मुक्त गराउने कम्पनीको विश्वास छ। साथै, ईभीकै लागि मात्र समर्पित १६ भन्दा बढी विशेष सेवा केन्द्रमार्फत ग्राहकहरूलाई गुणस्तरीय मर्मत–सम्भार सेवा उपलब्ध गराइँदै आएको सिप्रदीले जनाएको छ।
प्रविधिमा नयाँ आयाम थप्दै कम्पनीले ‘ब्याट्री डायग्नोस्टिक एन्ड रेस्टोरेशन’ सेवा पनि सुरु गरेको छ। यस सेवामार्फत ईभीको प्रमुख अंग मानिने ब्याट्रीको अवस्था सूक्ष्म रूपमा परीक्षण गरी आवश्यक परे पुनः मर्मत गरिनेछ, जसले ब्याट्रीको आयु र कार्यक्षमता बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
साथै, ‘एक्सचेन्ज क्याम्प’मार्फत सवारी साधन बुकिङ गर्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क चार्जिङ सुविधा पाउने कम्पनीले जनाएको छ। यो योजनाले विद्युतीय सवारी खरिदप्रति उपभोक्तालाई थप प्रोत्साहन मिल्ने विश्वास लिइएको छ।
नेपालमा विद्युतीय सवारीको इकोसिस्टम निर्माणमा अग्रणी भूमिका खेलिरहेको सिप्रदी ट्रेडिङले आगामी दिनमा पनि चार्जिङ स्टेशन र सेवा केन्द्रहरूको सञ्जाललाई अझै विस्तार गर्दै लैजाने लक्ष्य लिएको जनाएको छ।

Comment