कांग्रेस विशेष महाधिवेशन निर्वाचनमा मोडियो, मनोनयन दर्ताको समय थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियामै प्रवेश गरेको छ। रातभर विभिन्न चरणमा भएको वार्ताले सहमति जुटाउन नसकेपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो।

विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम चरणको वार्ताको प्रयास भइरहेको भए पनि त्यसलाई मध्यनजर गर्दै कार्यक्रम यथावत् रूपमा अघि बढाइएको बताए। “हाम्रो निर्वाचनको तालिका यथावत् छ। उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने जानकारी आएको छ, हामी त्यसलाई सम्मान गर्छौँ। यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ,” उनले भने।

पोखरेलले मंगलबार बेलुकी विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए। उनका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार देखिए पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएकाले सहमतिको सम्भावना टरेको हो।

सभापति देउवाको नेतृत्व निरन्तरताको अडान आफूहरूका लागि स्वीकार्य नरहेको उल्लेख गर्दै पोखरेलले देउवाले पार्टी नेतृत्व हस्तान्तरण गरी पार्टी र व्यक्तित्वसम्बन्धी लेखनमा बाँकी जीवन समर्पण गर्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार अब विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया मात्र बाँकी रहेको छ।

यसैबीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन मंगलबार साँझ पारित भएपछि बन्द सत्र समापन गरिएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारी संरचनाको खाकासमेत तयार गरिरहेको जनाइएको छ।

बुधबार बिहानसम्म वार्ताको ढोका खुला राखिने भए पनि निर्वाचनको नयाँ तालिकाअनुसार प्रक्रिया अगाडि बढ्ने भएको छ। केन्द्रीय निर्वाचन समिति संयोजक तथा वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन दर्ताका लागि बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्मको समय थप गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।