काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भइरहेको छ भने कार्यतालिका समय अभावका कारण संशोधन गरिएको छ।
पुस २७ र २८ गतेका लागि तय गरिएको दोस्रो विशेष महाधिवेशन सोमबारबाट बन्दसत्रमा प्रवेश गरेको हो। विभिन्न प्रतिवेदनहरूमाथिको छलफल लम्बिएपछि महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपरेको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए।
उनका अनुसार आजसमेत महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया निरन्तर चलिरहेको छ। विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्याउने दाबी गरिरहेका छन्।
सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता सुवास पोखरेलले आइतबारसम्म विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमबार थप ६.२४ प्रतिशतले वृद्धि भएको बताए।
उनका अनुसार मङ्गलवार नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुने छ भने सोही दिन निर्वाचन, अनुशासन तथा केन्द्रीय समिति लगायतका समितिहरू भङ्ग गरिनेछ।
यता संस्थापन पक्षलाई पनि सहमतिमा ल्याउने प्रयास जारी छ भने यसका लागि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताहरूबीच आज पुनः छलफल हुने भएको छ। उक्त वार्तामा गगन–विश्व समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य सहभागी हुने जनाइएको छ।

Comment