काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पारेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस समानता, विवेक र प्रश्न गर्ने संस्कृतिमा विश्वास गर्ने पार्टी भएको बताए। कांग्रेसभित्र कसैलाई नबोल्न बाध्य पार्ने वा प्रश्न गर्न रोक्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।
“कांग्रेस दास र लासको पार्टी होइन। हामी सबै बराबर छौँ। कसैले नबोल भनेर चुप लाग्ने होइन। जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,” थापाले महाधिवेशनलाई सम्बोधन गर्दै भने।
महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा अझै कायम रहेको उल्लेख गर्दै अहिलेको मुख्य चुनौती चुनाव जित्नु मात्र नभई व्यवस्था, संविधान र जनविश्वास जोगाउनु भएको बताए।
“चुनाव आउँछ, जान्छ। कहिले जितिन्छ, कहिले हारिन्छ। तर अहिले प्रणाली र संविधान जोगाउनु पर्ने बेला छ। त्योभन्दा पनि महत्वपूर्ण कुरा जनताको भरोसा जोगाउनु हो,” उनले भने।
थापाले विशेष महाधिवेशनलाई कांग्रेसलाई आत्मसमीक्षा, सुधार र जनमुखी राजनीतिको दिशामा अघि बढाउने अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

Comment