महाधिवेशन विवादमा नुवाकोट कांग्रेसको निर्णय—विशेष महाधिवेशनमा नजान आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट कांग्रेसद्वारा विशेष महाधिवेशन अवैधानिक ठहर, सहभागि नहुन आग्रह

विदुर । नेपाली कांग्रेस नुवाकोटको पदाधिकारी बैठकले प्रस्तावित विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई त्यसमा सहभागि नहुन आग्रह गरेको छ।

शनिबार जिल्ला सभापति रमेश महतको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले मंसिर १८ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाखमा नियमित महाधिवेशनको मिति घोषणा गरिसकेको अवस्थामा कुनै व्यक्तिले आह्वान गरेको विशेष महाधिवेशन स्वतः निष्क्रिय हुने निष्कर्ष निकालेको हो। बैठकले विधान विपरीत बोलाइएको विशेष महाधिवेशन अवैधानिक हुने ठहर गरेको छ।

कांग्रेस नेताहरूका अनुसार नुवाकोटमा रहेका ५२ जना महाधिवेशन प्रतिनिधिमध्ये बहुमत प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा छन्। क्षेत्र नम्बर १ मा ६ जनाले हस्ताक्षर गरेको भनिए पनि २ जनाले पछि हस्ताक्षर फिर्ता लिएका छन् भने क्षेत्र नम्बर २ मा ५ जनाले कुनै पनि हस्ताक्षर नगरेको जनाइएको छ।

बैठकले प्रतिनिधिसभा निर्वाचनको मुखमा पार्टीभित्र विखण्डन सिर्जना गर्ने गतिविधिले नेपाली कांग्रेस मात्र नभई समग्र लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गर्दै व्यक्तिगत महत्वाकांक्षा र हठ त्यागेर पार्टी एकतामा जुटिनु आजको आवश्यकता भएको ठहर गरेको छ। साथै आगामी निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा एकजुट भएर लाग्न कार्यकर्तालाई अपिल गरेको छ।

क्रियाशील सदस्यता नवीकरणका विषयमा उठेका विवादबारे पनि बैठकले स्पष्ट पारेको छ। जिल्लाका ११ वटै पालिकाबाट नवीकरण फाराम प्राप्त भइसकेको र सूर्यगढी गाउँपालिकामा देखिएको विवादका कारण मात्र प्रक्रिया केही समय रोकिएको जनाउँदै त्यसलाई समाधान गर्न छलफल भइसकेको र कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ। बैठकले बाहिर फैलाइएका हल्ला र भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।

यसैगरी बैठकले कांग्रेस नुवाकोटका नेता रामबाबु उप्रेती, महासमिति सदस्य हरिश्चन्द्र सिंह तामाङ र तारकेश्वरका नेता रामजी कार्कीको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

बैठकमा जिल्ला सभापति रमेश महतसहित उपसभापति सन्तमान तामाङ, सचिवद्वय बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ, सहसचिव उत्तम पाठक र यादव नेपाल, कोषाध्यक्ष प्रल्हाद पन्थ तथा प्रवक्ता नारायण अधिकारीको सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ। अर्का उपसभापति राजु थापा भने बैठकमा सहभागि थिएनन्। थापाले यसअघि शुक्रबार विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति जारी गरेका थिए।

बैठकपछि सचिवद्वय श्रीराम श्रेष्ठ र बैकुण्ठ मिश्रले संयुक्त विज्ञप्ति जारी गर्दै निर्णयहरू सार्वजनिक गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।