काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उल्लेख्य अंकले बढेको छ। अघिल्लो दिन १०.२९ अंकले घटेको नेप्से सोमबार २८.७३ अंकले बढ्दै २,६३९.३७ विन्दुमा पुगेको छ। यो वृद्धि अघिल्लो कारोबार दिनको तुलनामा १.१० प्रतिशत हो।
सोमबार सेन्सिटिभ इन्डेक्स पनि ३.१७ अंकले बढेर ४५४.७९ विन्दुमा पुगेको छ। हरियाली बनेको बजारमा ३३५ कम्पनीको ८४ हजार ९९० पटकको कारोबारमा एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच भएका छन्। यस दिन कुल ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको तुलनामा बढी हो।
नेप्सेमा सूचीकृत १३ वटै समूहका सूचक सोमबार बढेका छन्। वाणिज्य बैंक समूह ०.६७ प्रतिशतले बढ्दा विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, जलविद्युत् १.४४, लगानी १.२५, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन ३.०५, लघुवित्त ०.५३, म्युचुअल फन्ड ०.४३, निर्जीवन बीमा ०.५७, अन्य समूह ०.७३ प्रतिशत र व्यापार समूह ०.२२ अंकले उकालो लागे।
कारोबारका आधारमा २१४ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घट्यो भने आठ कम्पनीको मूल्य स्थिर रह्यो। सोमबार पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले वृद्धि भएको छ। सर्किट लाग्ने कम्पनीमा सागर डिस्टलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, बन्दिपुर केबलकार र रुरु जलविद्युत् परियोजना रहेका छन्।
यस दिन सबैभन्दा बढी गिरावट स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिबेन्चरमा देखिएको छ, जसको मूल्य २.४९ प्रतिशतले घट्दै अन्तिम कारोबार मूल्य १,१८० रुपैयाँ कायम भएको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको सोमबार ३८ करोड ६९ लाख ५० हजार ३४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्टको अन्तिम सेयर मूल्य प्रतिकित्ता ६२९ रुपैयाँ कायम रह्यो।

Comment