ललितपुर । पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमार्फत संविधानको रक्षा गर्दै राष्ट्रियतामाथि देखिएको संकट टार्न सकिने बताएकी छन्।
नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिद्वारा मंगलबार महालक्ष्मीस्थानमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक घटनाक्रमका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको धारणा राखिन्। जेन–जेड आन्दोलनका क्रममा ६ दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाउनुपरेको र भदौ २४ गते भएको विध्वंसात्मक घटनाले राष्ट्रियता र राजनीतिक स्थायित्वमा गम्भीर असर पारेको उनले बताइन्।
भुसालका अनुसार जेन–जेड आन्दोलन सुशासनको मागका लागि उठेको भए पनि भदौ २४ को घटना योजनाबद्ध र विध्वंसात्मक प्रकृतिको थियो। “त्यो घटनाबाट राज्यलाई मात्र करिब ८४ अर्ब रुपैयाँको क्षति भयो। राजनीतिक दलका कार्यालय, निजी घर तथा व्यवसायमा भएको क्षतिको यकिन विवरण आउन बाँकी नै छ,” उनले भनिन्। यस्ता गतिविधि देशभक्त नेपालीबाट नभई लामो तयारीसहित गरिएको निष्कर्षमा पार्टी पुगेको उनको भनाइ थियो।
मुलुकका विद्यमान समस्या, चुनौती र राष्ट्रिय उपलब्धिको रक्षा गर्न निष्पक्ष निर्वाचन नै अबको विकल्प भएको उल्लेख गर्दै भुसालले फागुन २१ मा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा आशंका रहेको बताइन्। त्यसका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।
उनले निर्वाचनमा सहभागी सबै दलहरू सहज रूपमा जनतामाझ जान सक्ने वातावरण हुनुपर्ने बताउँदै समानुपातिकतर्फ उम्मेदवारी दर्ता भइसकेको तथ्यले निर्वाचन प्रक्रिया अगाडि बढेको संकेत गरेको उल्लेख गरिन्।
पछिल्ला दिनमा ऐतिहासिक आन्दोलनबाट परिवर्तन ल्याएका दलहरूलाई ‘खतम भइसके’ भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै भुसालले उमेरले मात्रै नयाँ हुँदैमा दीर्घकालीन सोच, रणनीति र ऐतिहासिक विरासतबिनाका दलले दिगो परिवर्तन ल्याउन सक्छन् भन्ने विश्वास गर्न नसकिने धारणा राखिन्। सूचना प्रविधिको दुरुपयोगबाट भ्रमलाई सत्यझैँ स्थापित गर्ने प्रवृत्तिले थप चुनौती सिर्जना गरेको उनले बताइन्। “राजनीतिमा सिद्धान्त र विचार नभएकाहरू लोकप्रियताको नाममा हावी हुने खतरा बढेको छ,” भुसालले भनिन्।
उनले देशका सबैभन्दा धनी वर्गका व्यक्तिहरू रास्वपाको समानुपातिक सूचीमा परेको तथ्य उल्लेख गर्दै उनीहरूबाट साना तथा मझौला वर्गको हितमा काम हुनेमा शंका व्यक्त गरिन्। राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको वास्तविक मालिक नेपाली नागरिक नै भएको बताउँदै राज्यले पछाडि पारिएका समुदायलाई नीतिगत रूपमा मूलधारमा समेट्दै आएको पनि उनले स्मरण गराइन्।
भुसालले जनताको सार्वभौमसत्तासम्पन्न संविधानसभाबाट बनेको संविधान हाल संकटमा परेको उल्लेख गरिन्। कला, संस्कृति र ऐतिहासिक विरासतले अन्तर्राष्ट्रिय पहिचान बनाएको ललितपुर जिल्लाले स्थानीय कच्चा पदार्थमा आधारित उद्यम र व्यवसायमार्फत आधुनिक युगमा अग्रगामी भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित) ले साना व्यापार व्यवसायमा संलग्नहरू एकताबद्ध भए सञ्चालनका क्रममा देखिने समस्या समाधान सहज हुने बताए। उनले महासंघलाई पालिकास्तरसम्म विस्तार गर्न चुस्तदुरुस्त समिति निर्माण आवश्यक रहेको उल्लेख गरे।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले कुशासनका कारण व्यापार, व्यवसाय र लगानीको वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गरे। राज्यले व्यवसाय प्रवर्द्धन गर्ने नीतिगत व्यवस्था गर्न नसकेको उल्लेख गर्दै महासंघले साना व्यवसायीको हितमा निरन्तर आवाज उठाउँदै आएको बताए।
महासंघ बागमती प्रदेशका महासचिव सन्तोष पौडेलले २०७९ असार ३० गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई महासंघ क्रियाशील रहेको जानकारी दिए। उत्पादनसँग जोडिएको समाजवादउन्मुख अर्थतन्त्र निर्माण र स्वदेशमै अवसर सिर्जना गर्न महासंघ केन्द्रित रहेको उनले बताए।
महासंघ ललितपुरका अध्यक्ष राज घिमिरेले संस्थालाई साना तथा मझौला व्यवसायीको हितमा प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिबद्धता जनाए।
नयाँ कार्यसमिति चयन
दोस्रो जिल्ला अधिवेशनबाट ४१ सदस्यीय कार्यसमिति चयन गरिएको छ, जसमा १५ जना पदाधिकारी रहेका छन्। अध्यक्षमा राज घिमिरे पुनः चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा नारायण नेपाल चयन भएका छन्।
उपाध्यक्षहरूमा तिर्थबहादुर लामा, गणेश लामा, नविन महर्जन र उषा काफ्ले चयन भएका छन्। महासचिवमा अन्जान गौतम, उपमहासचिवमा राज कार्की, सचिवमा उपेन्द्र कलवार, सन्तबहादुर तामाङ र सञ्जय लामा तथा कोषाध्यक्षमा बेलमती रोकाया चयन भएका छन्।

Comment