काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा ३ हजार ३०३ वटा बीमा दाबी परेका छन् । ती दाबीको कुल रकम २३ अर्ब ४५ करोड रुपैयाँ पुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीले जानकारी दिए । कुल दाबीमध्ये हालसम्म बीमा कम्पनीहरूले ५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी गरिसकेका छन्, जुन कुल दाबी रकमको करिब २२ प्रतिशत हो ।
प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले तथ्याङ्क अद्यावधिक गरेका छन् । यसअनुसार अग्रिम भुक्तानीसमेत गरी ७१० वटा बीमा दाबीमा १९ अर्ब २ करोड रुपैयाँमध्ये करिब ३ अर्ब ८२ करोड रुपैयाँ भुक्तान भएको छ । मोटर बीमातर्फ २ हजार ३११ वटा दाबीमा ३ अर्ब ४७ करोड रुपैयाँमध्ये करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको छ भने इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा दाबीमा ५५ करोड ४७ लाख रुपैयाँमध्ये करिब ७ करोड ५० लाख रुपैयाँ भुक्तान गरिएको छ ।
यसैगरी, परिवहन बीमातर्फ १२ वटा दाबीमा १ करोड ६९ लाख रुपैयाँमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको छ भने अन्य बीमातर्फ ४५ वटा दाबीमा ३८ करोड ४० लाख रुपैयाँमध्ये करिब ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको सुवेदीले बताए । जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको पुनर्बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसमेत गरी करिब ३ अर्ब २ करोड रुपैयाँ भुक्तान गरेको छ । नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट २ हजार ८६२ वटा पुनर्बीमा दाबी परेका छन्, जसको कुल दाबी रकम १६ अर्ब ६२ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

Comment