नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब) स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब) को औपचारिक शुभारम्भ गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (सीटीईभीटी) प्रणालीलाई हरित सीपसँग जोड्न र दिगो रोजगारी तथा विकासलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहकार्यमा यो बोर्डको गठन गरिएको हो ।

बोर्डले नेपालमा हरित सीपसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, वातावरणमैत्री तालिम नीति निर्माणका लागि संवाद गर्ने, तालिम प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्न ठोस कदम चाल्ने लक्ष्य राखेको छ । विशेष गरी दिगो कृषि, वातावरणमैत्री निर्माण, पर्यटन लगायतका क्षेत्रमा हरित सीपलाई प्रोत्साहन गर्ने योजनासहित यस बोर्डको स्थापना गरिएको हो ।

बोर्डको शुभारम्भ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वव्यापी रूपमा बढिरहेको तापक्रम, कार्बन उत्सर्जन तथा विभिन्न वातावरणीय प्रभावका कारण मानव स्वास्थ्य सहित समग्र विश्वमा गम्भीर नकारात्मक असरहरू देखापरेको सन्दर्भमा यो पहलले महत्तपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन, कार्बन उत्सर्जन र वातावरणीय चुनौतीले हामीलाई नयाँ सोच, नयाँ सीप र नयाँ अभ्यासतर्फ अघि बढ्नु पर्ने बताए ।

नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालले सन् २०४५ सम्ममा नेट जेरो कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्यलाई यो पहलले योगदान गर्ने बताए । सीटीईभीटीका सदस्य सचिव इन्जिनियर महेश भट्टराईले नेपाललाई हरित सीपको माग सम्बोधन गर्न साझेदारी विकास गर्ने र कार्बन न्यूट्रालिटी हासिल गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पुर्‍याउन बोर्डले सहयोग गर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वातावरण मैत्री सीपको विकास, प्रवद्र्धन तथा कार्यान्वनमा परिसंघ प्रतिबद्ध रहेको बताए । नेपाल निर्माण व्यवसायी महासंघका रवी सिंहले वातावरण संरक्षण र हरित सीप आजको आवश्यक्ता भए पनि हरितको नाममा विकासलाई बाधा पार्न नहुने र दिगो विकासलाई प्राथमिकता राख्नु पर्नेमा जोड दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।