काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम लिएर पार्टीमा विवाद नगर्न आफूनिकट नेताहरूलाई चेतावनी दिएका छन् । बिहीबार दिउँसो आफूनिकट केन्द्रीय नेताहरूलाई बैठकमा बोलाएका उनले पार्टी नियमित र विशेष महाधिवेशन भन्दै किन विवाद गरेको भन्ने प्रश्नसमेत गरेका थिए ।
बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार सभापति देउवाले विशेष महाधिवेशनमा गए पार्टी फुट्ने र आफूलाई त्यो सह्य नहुने धारणा राखेका थिए । ‘साथीहरू चुनावअघि र पछि विशेष महाधिवेशनको पक्षमा उभिएपश्चात् उहाँले हामी सबैलाई हर्कानु भयो‚’ ती नेताले भने‚ ‘सभापतिज्यूले मेरो नाम लिएर पार्टीमा विवाद किन गरिरहेको भन्दै हप्काउनु भयो ।’
देउवाले आफू कार्यकारी भूमिकामा नभएको र पुनः हुने महाधिवेशनबाट आफू सभापति नहुने दोहोराएका थिए । ‘अहिले पनि मैले कार्यवहाक दिइसकेको छु र कार्यकारी भूमिकामा छैन । फेरि पनि महाधिवेशनबाट म हुने होइन‚’ देउवाको भनाइ उधृत गर्दै ती नेताले थपे‚ ‘मलाई किन विवादमा तानिरहेको ?’
सो क्रममा देउवाले पार्टी मिलाएर लैजान सबै नेताहरूलाई निर्देशन दिएका थिए । विशेष महाधिवेशनमा गए पार्टी विभाजन हुने भन्दै देउवाले विशेष महाधिवेशन रोक्ने ढंगबाट पार्टी चलाउन निर्देशन दिएका थिए । ‘विशेष महाधिवेशन नगर नियमित महाधिवेशन गर‚’ उनले भनेका थिए‚ ‘विशेषले पार्टी फुटाउँछ । पार्टी फुटेको/टुटेको म हेर्न सक्दिनँ ।’

Comment