काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उक्त पार्टीसँगको यात्रा र अध्याय सकिएको बताएकी छन्।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट विघटन हुने भएसँगै उक्त पार्टीसँगको आफ्नो यात्रा पनि टुंगिएको बताएकी हुन्।
‘नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरुमा हामी एउटा भयंकर नै अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौं। त्यो अब समाप्त भएको छ,’ उनले भनिन्, ‘हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगसँगै टुंगियो।’
अवरुद्ध बाटो र यात्रुको उदाहरण दिँदै उनले भनिन्, ‘जब हाम्रो बाटो पनि अवरुद्ध हुन्छ त्यतिबेला कसरी अगाडि बढ्ने भन्नका लागि पनि बाटोमा उभिनुपर्छ। यात्रालाई पज गर्नुपर्छ। त्यसपछि उपयुक्त मार्गहरु प्रशस्त गरेर यात्रा अगाडि बढाउनुपर्ने हुन्छ।’
आज आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दैगर्दा अभियान भयंकर हुने लागेको तर त्यो सम्भावना समाप्त भएको बताइन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबिच आजै पार्टी एकता हुँदैछ। एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने नेताहरूले बताएका छन्।

Comment