तिहार : गाई, गोबर्द्धन र म्हः पूजा आजै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ। गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाले जानकारी दिए।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ। पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ।

गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ। गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ।

यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ।

यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ ।वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ।

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ।​

गोवर्द्धन पूजा

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

म्हः (आत्म) पूजा

कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्ह) पूजा पर्व मनाउने गर्दछन्।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन्।

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ।

यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो। यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।