काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारामा लगिएको छ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको बताउँदै थुनामा पठाउन आदेश दिएको हो । महराविरुद्ध चिनिया तस्करले भेप (विद्युतीय चुरोट)मा ल्याएको ९ किलो बढी सुन भन्सारबाट छुटाउन महराले भनसुन गरेको आरोप लागेको छ।
उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको हो । महराका छोरा राहुलसहित ४ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएको थियो।
अदालतले महरा र अन्य प्रतिवादीहरूको बयानबाट समेत उनी संलग्न छैनन् भन्ने अवस्था नदेखिएको आदेशमा उल्लेख गरेको छ। महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पक्राउ गरी मुद्दा दायर गरेको हो।
Comment