काठमाडौं । अभियन्ता ईले काठमाडौं महानगरका प्रमुख बालेन शाह, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र व्यापारी दुर्गा प्रसाईंबीच ‘फेस भ्याल्यू’मा भिन्नता भए पनि व्यवहारमा खासै अन्तर नरहेको टिप्पणी गरेका छन् ।
ईले आफ्नो फेसबुकमा लेखेका छन्–
‘समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशासहित यो भन्दै छु– केपी, बालेन, दुर्गाजस्ता पात्रहरूबीच फेस भ्याल्यूमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन । तिनीहरू आफ्नो अटलता र वर्चश्व कायम गर्न जुनै पनि हदसम्म जान तयार हुनसक्छन् । यस्ता पात्रले प्रस्तुत गर्नसक्ने भन्दा विकसित र गतिशील नेतृत्वको काबिल बन्न हाम्रो समाजमा, हर मनमा गम्भीर आत्मसमीक्षा जरूरी छ । यी केवल आम हिपोक्रिसीको ऐना मात्र हुन् ।’
उक्त स्टाटसमुनि मेयर बालेन शाहले जवाफ दिँदै भनेका छन्–
‘८० वर्ष पुग्दा पनि आफू प्रधानमन्त्री बन्ने, अध्यक्ष बन्ने देशमा मैले ३५ वर्षकै उमेरमा तपाईंहरूलाई भनिरहेको छु– आउनुस्, देश चलाउनुस् । ई सर, सबै जना मिल्नुस्, बालेनलाई मात्र नेता नसोच्नुस् । तपाईंहरू पनि लिडर बन्नुस् । म तपाईंलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउन तयार छु । सबै नयाँलाई मिलाएर ल्याउनुस्, म कार्यकर्ता बन्न तयार छु ।
देश मलाई नै छोड्ने हो भने पनि म बिनाएक जना मन्त्री, एक्लै देश बनाइदिन सक्छु, तर यस्तो सोचले देश बन्दैन ।’
यसअघि पनि ई र बालेनबीच फुटपाथ व्यापारीलाई सडकबाट हटाउने महानगरको कारबाहीका कारण मतभेद देखिएको थियो । उक्त विषयमा ईले बालेनको नीतिविरुद्ध आन्दोलनसमेत गरेका थिए ।
Comment