काठमाडौं । नेपालका चार खेलाडीले फ्रान्समा हुने विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन्।
फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिता अक्टोबर १७ देखि १९ तारिखसम्म हुनेछ। त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स जाँदै छ। एक पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। स्वनिम मानन्धरले पुरुष एकल कातामा आफ्नो कौशल प्रस्तुत गर्नेछन्। महिला ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सविना श्रेष्ठले चुनौती पेस गर्नेछन्। स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन्।
यो छनोटको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने विश्व कराते च्याम्पियनसिपको २७औं संस्करणका लागि छनोट हुनेछन्। छनोटअघि नै हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन्। एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउनेछन्। बाँकी २ खेलाडी विश्वविद्यालय कोटाबाट छानिनेछन्। विभिन्न १२ स्पर्धा समावेश छनोटमा ५ सय ४९ खेलाडी सहभागी हुनेछन्। नेपालबाट सानुमाया थिङले भने इजिप्टको यात्रा पक्का गरिसकेकी छन्।
सानुमायाले महिला एकल कातामा खेल्नेछिन्। टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन्। पेरिसमै अक्टोबर १६ मा हुने प्रशिक्षक परीक्षामा सहभागी हुन अमिर राना पनि टोलीसंगै जानेछन्। उनले टोली व्यवस्थापकको भूमिका पनि निर्वाह गर्ने बताइएको छ। टोलीका लागि सुशान्त अधिकारीले ट्य्राकसुट प्रायोजन गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठले मंगलबार एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेका थिए। सो अवसरमा सदस्यसचिव घिसिङले इतिहास रच्ने सुनौलो अवसर भएकाले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न बताए।
Comment