काठमाडौं । विदेशी मुद्रा संचिति करिब साढे २० अर्ब अमेरिकी डलरमा पुगेको छ । यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।
नेपालको विदेशी मुद्रा सञ्चिति नेपाली मुद्रासँगको सटही अनुसार २९ खर्ब रुपैयाँ नजिक पुगेको छ । आर्थिक गतिविधिमा कमी आएका कारण बैंकहरुमा तरलता बढ्दै गएको छ भने वैदेशिक व्यापारमा पनि निर्यात केही सुधार हुँदा पनि आायत अपेक्षित बढेको छैन । तर, रेमिट्यान्स उच्च दरमा वृद्धि हुँदा विदेशी मुद्रा आप्रवाह उच्च दरमा बढेको कारण मुलुकमा रहेको विदेशी मुद्रा सञ्चिति निन्तर बढेको हो ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आउँदा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ । २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
आयातमा केही वृद्धि भएपनि त्यसको तुलनामा रेमिट्यान्सको वृद्धि उच्च हुँदा विदेशी मुद्रा सञ्चिति लगातार बढेको छ । जसले गर्दा आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त केन्द्रिय बैंक्ले जनाएको छ।
२०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छ ।
Comment