काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आफ्नो क्षेत्रमा फुटसललाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप पहिलोपल्ट साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
साफले आइतबार सामाजिक सञ्जालमार्पmत आगामी वर्ष जनवरी १३ देखि २६ सम्म पुरुष र महिला दुवैको फुटसल च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएको हो। यद्यपि दुवै च्याम्पियनसिप थाइल्यान्डमा हुने साफले उल्लेख गरेको छ।
दक्षिण एसियामा फुटसलको जग बलियो बनाउने मुख्य उद्देश्यले फुटसल आयोजना हुन लागेको हो। साथै च्याम्पियनसिपमा प्रशिक्षक र रेफ्रीहरूका लागि क्षमता अभिवृद्धि कोर्स पनि हुने साफको योजनामा छ।
फुटसल विश्वव्यापी रूपमा ठूलो आयोजना हुने गरे पनि यस क्षेत्रमा त्यति विकास हुन नसकेको साफको भनाइ छ। यसमा सुधार ल्याउन फुटसल च्याम्पियन आवश्यक रहेको साफको विश्वास छ। साफका महासचिव पुरुषोत्तम कट्टेलले फिफाका सबै सदस्यहरू फुटसल र बिच फुटबलमा सक्रिय रहने भए पनि दक्षिण एसियामा सो अनुरूप नदेखिएको उल्लेख गरेका छन्। ‘फुटसलको विश्वव्यापी रूपमा लोकप्रियता छ तर दक्षिण एसिया भने फुटसल पछाडि पर्दै आएको छ। त्यसैले यो कार्यक्रम गर्दै छौं। यसका लागि फिफा र एएफसी आवश्यक सहयोग प्राप्त गरेका छौं,’ साफका महासचिव कट्टेलले भने।
साफको यो कदमले सरोकारवालाहरुको संलग्नतालाई थप विस्तार गर्ने विश्वास गरिएको छ। साफ फुटसल च्याम्पियनसिपले दक्षिण एसियाली क्षेत्रमा फड्को मार्न मद्दत गर्ने साफका महासचिव कट्टेलले विश्वास व्यक्त गरेका छन्।
Comment